राजनीति

विकास दिनेलाई भोट

गुर्भाकोट नगरपालिका–९ पोखरेका तोरे घर्ती १०० वर्षका भए। आफ्नो जीवनकालमा उनले गरेको संघर्ष र भोगाइको फेहरिस्त लामै छ। भेरी किनारको यो बस्तीमा खानेपानीको सुविधा थिएन। भेरीको धमिलो पानी खानुपर्ने बाध्यता थियो। विद्युत्, सडक, स्वास्थ्य, विद्यालय त झन् टाढाको कुरा भए।  

अहिले उनको बस्तीबाटै जाजरकोट हुँदै डोल्पा जाने सडक छ। विद्युत्ले दियालो र टुकी विस्थापित गरेको छ। खानेपानीका लागि भेरी किनार पुग्नुपर्दैन। घरघरमा धारा जोडिएका छन्। ‘यस्तो विकास होला भन्ने सोचेकै थिइन,’ नागरिकसँग उनले भने, ‘जनताले राम्रो नेता छानेर पठाए विकास पनि छिटोछिटो हुँदो रहेछ।’ उनको खेत भेरी किनारमै छ। हरेक वर्ष बाढीले खेत कटान गरिरहेको छ। भोट माग्न आउने उम्मेदवारलाई उनी तटबन्धन गरिदिए माग गर्छन्।  

‘बाटो आयो, बिजुली बाल्न आएका छौं, खानेपानीको पनि समस्या छैन,’ मतदाता भेट्न गएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग घर्तीले भने, ‘अब खेत जोगाउन तटबन्धन गरिदिए पुग्ने थियो।’

धारापानीलाई पूर्वी सुर्खेतको सबैभन्दा दुर्गम क्षेत्र मानिन्थ्यो। यातायात, विद्युत, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुराहरूबाट पनि धारापानी टाढा थियो। बोटेचौर बजारबाट भालुखोला हुँदै अहिले धारापानीसम्म नियमित यातायातका साधन चल्छन्। विद्युत्ले धारापानी झिलीमिली भएको छ।

दशकअघि बोटेचौर बजार नजिकैको भालुखोलामा बसाइ सरेको मिना गैरेको परिवार मुलथलो फर्किएको छ। ‘पहिले यहाँ सुविधा केही थिएन, बिरामी हुँदा उपचारै नपाएर मरिन्छ कि भन्ने डर लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँमै सबै सुविधा पुगेपछि पुख्र्यौली थलो फर्किएका हौं।’ उनले पछिल्ला तीन दशकमा पूर्वीसुर्खेतले विकासमा उल्लेख्य फड्को मारेको बताइन्। ‘बाँदर लोट्ने भीरमा गाडी गुड्लान् भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘हेर्दाहेर्दै गाउँमा आधारभूत सेवाहरू पुगेका छन्।’

संघीयता अघिसम्म सुर्खेतमा तीनवटा निर्वाचन क्षेत्र थिए। अहिले सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन्। दुईवटा निर्वाचन क्षेत्र भएपछि चिंगाड गाउँपालिकासँगै वीरेन्द्रनगर नगरपालिकाको १५ र १६ वडा पनि क्षेत्र नं. १ मा गाभिएका छन्। पछिल्लो पटक गाभिएका यि क्षेत्रहरू तुलनात्मक रूपमा दुर्गम छन्। विद्युत पुगेको छैन्। अधिकांस ठाउँमा सडकको सुविधा छैन। ‘भेरी किनारमा भएका विकास अब यी क्षेत्रमा पनि हुने आशमा हामी छौं,’ साविकको पाम्का गाविसका स्थानीय तुलबहादुर रानाले भने, ‘विकास गर्ने नेतालाई भोट दिएर विकास माग्ने योजनामा हामी छौं।’

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनबाट कांग्रेस उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन्। शाही निर्वतमान सांसद हुन्। पाँच वर्षअघिको निर्वाचनमा बाम गठन्बन्धनका साझा उम्मेदवार शाहीले तीन हजार तीन सय मतले खड्कालाई पराजित गरेका थिए। ‘हामीलाई विकास ल्याउने नेता चाहिएको छ,’ गुर्भाकोटका भक्तबहादुर घर्तीले भने, ‘त्यसैले यसपटक पार्टी होइन्, उम्मेदवार हेरेर भोट हाल्ने हो।’ गाविस अध्यक्ष हुँदा प्रभावकारी काम गरेर चर्चामा आएका शाहीले संसद् हुँदा आफ्नो क्षेत्रमा विकास–निर्माणका कामहरू गर्न नसकेको आरोप स्थानीयको छ।

‘अघिल्लो वर्ष बाम गठबन्धनबाट उम्मेदवार हुनु भएका शाहीलाई भोट दियौं, उहाँले जित्नु पनि भयो, जितेर गएपछि हामीले अपेक्षा गरेअनुसार प्रभावकारी काम गर्न सक्नुभएन, ’भक्तबहादुरले भने, ‘त्यसैले यो पटक मत परिवर्तन गर्ने निर्णय गरेको छु।’ यहाँका मतदाताहरूका उम्मेदवारसँग धेरै ठूला अपेक्षा छैनन्। ‘नेताहरू आएर घरको चुल्हो बालिदिने होइनन्, खेत जोतिदिने पनि होइनन्,’ भेरीगंगाकी रामकली खत्रीले भनिन्, ‘बाह्रै महिना चल्ने सडक, झिलिमिली हुने बिजुली, घरको आँगनमा धारा, गाउँमै प्रभावकारी स्वास्थ्य र शिक्षा भइदिए पुग्छ।’

प्रकाशित: २५ कार्तिक २०७९ ०१:३० शुक्रबार

निर्वाचन