राजनीति

नेपालसँग प्रतिस्पर्धा गर्दै गुप्ता

माधवकुमार नेपाल र अजय गुप्ता।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट १ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल घरदैलोसहितका कार्यक्रममा व्यस्त छन्। कुनै बेला काठमाडौं र रौतहट दुवै जिल्लाबाट निर्वाचन जितेका उनी अहिले गृह जिल्लाबाट मात्र उम्मेदवार बनेका छन्। यसपटक रौतहट १ बाट उम्मेदवारी दिएपछि उनले आफूलाई जन्मघर फर्केर आएको अनुभूति भएको बताएका थिए। त्यहाँ उनको पुख्र्यौली घर छ।

पूर्वप्रधानमन्त्री नेपाल २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट विजयी भएका थिए। त्यतिबेला उनी एमालेबाट निर्वाचित भएका हुन्। २०७८ भदौ ९ मा एमालेबाट अलग भएर नेकपा एस बनाएका नेपाललाई अहिले चुनावी मैदानमा एमालेका उम्मेदवार अजय गुप्ता चुनौती बनेका छन्। २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपालले गुप्तालाई हराएका थिए। त्यतिबेला गुप्ता मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार थिए। अहिले गुप्ता एमालेबाट उम्मेदवार छन्।

नेकपा एसका अध्यक्ष नेपाल वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन्। चुनावी लडाइँमा काठमाडौं भन्दा रौतहट निकै सुरक्षित भएकाले नेपाल यसपटक त्यहाँबाट उम्मेदवार बनेका हुन्।  

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एसले रौतहटमा चारवटा पालिकामा जित हात पारेको छ। ती चार पालिकामध्ये दुईवटा निर्वाचन क्षेत्र १ मा पर्छन्। स्थानीय निर्वाचनमा भएको जितबाट उत्साही नेपालले रौतहटमा आफ्नो अवस्था कमजोर हुन दिएका छैनन्। सत्ता गठबन्धन दलको समेत समर्थन भएकाले उनी निर्वाचन जित्नेमा ढुक्क देखिन्छन्।

गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र जमुनामाई गाउँपालिका निर्वाचन क्षेत्र १ मा पर्छन्। गढीमाई नगरपालिकाका ६, ७ र ८ वडा र गरुढा नगरपालिकाको १ नम्बर वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छन् ।  

स्थानीय निर्वाचनमा गौर नगरपालिका र राजदेवी नगरपालिकामा नेकपा एस विजयी भएको छ। स्थानीय तह निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र १ अन्तर्गतका वडामा नेकपा एसका उम्मेदवारले पाएको मत हेर्दा अध्यक्ष नेपालका लागि जित सहज हुने देखिन्छ। स्थानीय तह निर्वाचनमा रौतहट १ मा नेकपा एसका वडाध्यक्षहरूले पाएको मत जोड्दा १९ हजार ६ सय ९८ हुन्छ। रौतहट १ मा नेपाली कांग्रेसको १६ हजार ९ सय २८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को १२ हजार ६२, जनता समाजवादी पार्टी (जसपा) को ८ हजार २ सय ४१, एमालेको ७ हजार ३ सय ८५, माओवादी केन्द्रको ८ हजार १ सय ९१, जनमत पार्टीको १ हजार ३ सय २२ र अन्य पार्टीसहित स्वतन्त्र उम्मेदवारको १ हजार ७ सय ४ मत छ।  

केपी ओलीकै कारण एमालेबाट विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपरेको बताउँदै आएका नेपालले चुनावी प्रचारप्रसारका क्रममा पार्टीमा फुट आउनुको कारण पुष्टि गर्दै विकास निर्माणका अजेन्डाहरू प्रस्तुत गरिरहेका छन्। स्थानीय तह निर्वाचनमा रौतहट १ मा पर्ने गौर नगरपालिका र राजदेवी नगरपालिकामा नेकपा एस एक्लैले जित हासिल गरेको छ। सोही क्षेत्रमा पर्ने दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्र र माधवनारायण गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। माधवनारायणमा जसपाले उपमेयर पद जितेको छ। माधवनारायणका तीनवटा वडामा नेकपा एसका उम्मेदवार विजयी भएका छन्। जमुनामाईमा लोसपाले मेयर जितेको छ। त्यसका तीनवटा वडा माओवादी केन्द्र, एउटा वडामा नेकपा एस र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।

२०५६ र ०७० सालका निर्वाचनमा रौतहटबाट चुनाव लडेका नेपाल विजयी भएका थिए। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी रौतहटमा माओवादी उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए। त्यसैगरी सोही चुनावमा उनी काठमाडौं २ मा माओवादीका झक्कु सुवेदीसँग पराजित भएका थिए। दुवै क्षेत्रबाट चुनाव हारेपछि त्यसबेला एमालेको महासचिव रहेका उनले सो पदबाट राजीनामा दिएका थिए। नेपाल २०७४ सालको निर्वाचनमा भने उनी रौतहटबाट चुनाव लडेनन्। उनले काठमाडौं नै रोजे र विजयी पनि भए।

२०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपालले रौतहटमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अजय गुप्तालाई ३ सय मतान्तरले हराएका थिए। अहिले तिनै गुप्ता एमालेबाट माधव नेपालसँग प्रतिस्पर्धा गरिरहेका छन्। गच्छदार नेपाली कांग्रेसमा गएपछि गुप्ता महन्थ ठाकुरतिर लागे। लोसपाबाटै उनी गत स्थानीय तह निर्वाचनमा गौर नगरपालिकामा मेयरको उम्मेदवार बनेका थिए। मेयरमा हारेपछि उनी एमालेमा प्रवेश गरेका हुन्। उनी गौर नगरपालिकाका पूर्वमेयर पनि हुन्। गत स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाको मेयरमा नेकपा एसका शम्भु साह ७ हजार ५२ मतसहित विजयी हुँदा गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरेका थिए। नेकपा एसका अध्यक्ष नेपालले रौतहट १ का बाट प्रदेशसभामा प्रतिनिधित्व हने दुवै क्षेत्र कांग्रेसलाई छाडेका कारण पनि उनलाई निर्वाचन जित्न थप सहज भएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।

अध्यक्ष नेपालको रौतहट सदरमुकाम गौर १ मा पुख्र्यौली घर छ।प्रधानमन्त्री र मन्त्री हुँदा रौतहटको विकासमा योगदान पुर्‍याएकै कारण पनि नेपालप्रति रौतहटवासी सकारात्मक रहेको बताइएको छ। नेपालकै पहलमा गौर–चपुर सडकको स्तरोन्नति भएको थियो। प्रधानमन्त्री हुँदा उनले दुई अर्बको योजना पारेर गौरका सडक कालोपत्रे गराएका थिए। उनले जिल्ला अस्पतालको स्तरोन्नति, गौर–बरगनिया जोड्ने पुल निर्माण, गौरस्थित बरहवा तालको सौन्दर्यीकरण, वाग्मती र बकैया नदीमा तटबन्ध गराएका थिए। अहिले पनि गौर–चपुर सडक चार लेनसहित स्तरोन्नतिका लागि २० करोड रूपैयाँ बजेट परेको छ। यसमा पनि नेता नेपालकै योगदान छ। नेपालकै पहलमा गौरमा २२ करोड लागतमा सिटी हल बन्दै छ।  

को हुन् नेपाल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालको जन्म २००९ फागुन २६ गते रौतहटको गौरमा भएको होे। २०२२ सालमा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दादेखिै नै उनी राजनीतिमा लागेका थिए। सक्रिय राजनीतिमा आउनुअघि उनले बैंकमा जागिर पनि खाएका थिए। २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका थिए। उनी एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अवशानपछि २०५० सालमा पार्टीको महासचिव भएका थिए।  

नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा एमाले केन्द्रीय संगठन समितिका पोलिटब्युरो भए। सन् १९७८ मा नेकपा माले को संस्थापक सदस्य र पोलिटब्युरो सदस्य रहेका उनी सन् १९७६ मा राजनीतिक अभियोग राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष जेल परेका थिए। उनी एमालेबाट प्रधानमन्त्री भइसकेका छन्। नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल २०६२ र ०६३ को आन्दोलनमा प्रहरी हिरासत र नजरबन्दमा परेका थिए। एमालेमा १५ वर्ष महासचिव भएका उनले २०७८ साल भदौ ९ मा नेकपा एस गठन गरेका थिए।

को हुन् गुप्ता?

राजनीतिक इतिहास त्यति लामो नभए पनि अजय गुप्ता २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमालेका नेता माधवकुमार नेपालसँग रौतहट १ मा प्रतिस्पर्धा गरेर चर्चामा आएका हुन्। त्यसबेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट निर्वाचनमा उम्मेदवार भएका थिए। त्यतिबेला नेपालले गुप्तालाई ३ सय मतअन्तरले हराएका थिए। अहिले तिनै गुप्ता एमालेबाट नेपालसँग प्रतिस्पर्धा गरिरहेका छन्। गच्छदार कांग्रेसमा अएपछि गुप्ता महन्थ ठाकुरतिर लागेका थिए। गुप्ता नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाटै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गौर नगरपालिकामा मेयरको उम्मेदवार बनेर हारेपछि एमालेमा प्रवेश गरेका हुन्। उनी गौर नगरपालिकाका पूर्वमेयर हुन्।

प्रकाशित: २५ कार्तिक २०७९ ००:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App