राजनीति

कैलाली १ (ख) मा त्रिपक्षीय प्रतिस्पर्धा

राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन्। उनीहरु यतिबेला मतदाताका घरदैलोमा भोट मागिरहेका छन्। उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदातालाई सुनाइरहेका छन्। कसैले विकासका कुरा गर्ने गरेका छन भने कसैले विकृत राजनीतिक अवस्थालाई सुदृढ बनाउने वाचा गरिरहेका छन्। 

मतदाता भने मंसिर ४ गतेको पखाईमा छन्। उनीहरु कसलाई आफ्नो मत जाहेर गर्छन् भन्ने कुरा अहिले अनुमान मात्रै गर्न सकिन्छ। कैलाली क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) को अवस्था पनि त्यस्तै छ। उम्मेदवारहरु आफ्नो जित निश्चित भैसकेको दाबी गरिरहेका छन्।  

यो प्रदेश निर्वाचन क्षेत्रमा टीकापुर नगरपालिकाका नौवटा वडा रहेका छन्। त्यसकारण यो प्रदेशको अंक गणितलाई हालै सम्पन्न स्थानीय तहको निर्वाचनसँग जोडेर हेर्नुपर्ने हुन्छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत र मेयर, उपमेयरले प्राप्त गरेको मतको आँकडा भिन्न छ।  

वडाध्यक्षको मतलाई आधार मान्ने हो भने गठबन्धनको अवस्था मजबुत देखिन्छ। उसको १० हजार ६८२ मत छ। जसमध्ये वडा नं. १ बाहेकका ८ वडामा काँग्रेसको ५ हजार १५ र माओवादीको ३ हजार ७१५ मत छ। वडा नं. १ मा भने गठबन्धनले १ हजार ९५२ मत प्राप्त गरेको थियो। गठबन्धनका तर्फबाट नेकपा एसका सूर्यचन्द्र भट्टराई वडाध्यक्षका उम्मेदवार थिए। अन्य आठ वडामा भने गठबन्धनमा आवद्ध दलहरुबीच मित्रवत प्रतिस्पर्धा भएको थियो।

प्रदेश (ख) मा गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य डा. रणबहादुर रावल दोहोरिने प्रयासमा छन्। उनी २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी हाल सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री रहेका छन। लामो समय प्रमुख प्रतिपक्षी दलको नेता रहेका रावल मुख्यमन्त्रीका दाबेदार समेत हुन।  

वडाध्यक्षले आफूले प्राप्त गरेको मतलाई मात्रै सुरक्षित राख्न सके गठबन्धनको जित निश्चित प्रायःरहेको स्रोतको भनाइ छ। त्यति मात्रै नभई जितका लागि गठबन्धन भित्रको इमान्दारिता पनि कायम रहन जरुरी हुने मतदाता बताउँछन्।

गठबन्धन दलले अन्र्तघातको कुनै सम्भावना नरहेको बताउने गरेका छन्। स्थानीय तहको निर्वाचनमा भने मेयर र उपमेयरका हकमा अन्र्तघात भएको देखिन्छ। गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार काँग्रेसका नवराज रावल पराजित भए भने उपमेयरका उम्मेदवार माओवादीका खडक शाह विजयी भएका थिए।  

काँग्रेस प्रदेश (ख) का सभापति बलिराम चौधरीले गठबन्धन भित्र कुनै समस्या नरहेको बताए। उनले काँग्रेस भित्रको अन्र्तविरोध समेत अन्त्य भएकाले आफ्नो उम्मेदवार जित्ने दाबी गरे। उनको भनाइमा माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका बालकृष्ण चौधरी विकासले समेत समर्थन जनाएका छन्। उनले समेत गठबन्धन भित्र अन्र्तघात नहुने बताए। ‘त्यसो हुन नदिन हामी सचेत छौं’ उनले भने –‘गठबन्धन भित्र अरुले भने जस्तो समस्या छैन।’

नागरिक उन्मुक्ति पार्टीको वडाध्यक्षले प्राप्त गरेको मत भने ७ हजार १३९ रहेको छ। उसले एक्लै जित निकाल्न सक्ने दाबी गर्दै आएको छ। पार्टीले आफ्ना उम्मेदवार लक्ष्मण किशोर चौधरीको जित निश्चित भइसकेको बताउने गरेको छ। २०७४ को निर्वाचनमा भने चौधरी डा. रावलसँग पराजित भएका थिए। उनी तत्कालिन अवस्थामा राष्ट्रिय जनतापार्टीका तर्फबाट उम्मेदवार थिए।  

पार्टीका केन्द्रिय सदस्य रमेश विकले आफ्नो पार्टीसँग कसैको प्रतिस्पर्धा नहुने बताए। उनले आफ्नो उम्मेदवार धेरै मतले विजयी हुने दाबी गरे। ‘हामीसँग कसैको प्रतिस्पर्धा हुँदैन’ उनले भने –‘हामी धेरै मतान्तरले जित्छौं।’

नागरिक उन्मुक्तिबाट विद्रोह गरेर सो पार्टीका केन्द्रिय सदस्य रहेका गणेश चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन्। उनलाई पार्टीले कारवाही गरेको छ। उनले थारु समुदायको मत प्रभावित पार्ने अनुमान गरिन्छ। उनले थारु समुदायको मत प्रभावित पारे नागरिक उन्मुक्तिको अवस्था कमजोर हुने विपक्षी पार्टीको ठहर छ। सो पार्टीले भने उनले खासै प्रभाव नपार्ने बताएको छ। ‘२÷३ सय भन्दा बढी मत प्रभावित हुँदैन’ केन्द्रिय सदस्य विकले भने –‘हाम्रो लागि चौधरी खाशै समस्या हैनन्।’

नेकपा एमालेले युवानेता द्वारिका न्यौपानेलाई अघि सारेको छ। एमालेसँग वडाध्यक्षले प्राप्त गरेको ४ हजार ७०४ मत छ। एमालेले आफ्नो उम्मेदवार ‘फ्रेस’ भएकाले मतदाता आकर्षित हुने दाबी गरेको छ। यसका साथै उम्मेदवारले अघि सारेको विकासको मोडेल समेत मतदाता आकर्षित गर्ने खालको भएको प्रदेश ‘ख’ का इञ्चार्ज खडक साउँदले बताए। ‘मतदाताको प्रतिक्रिया सकारात्मक पाएका छौं’ उनले भने –‘हामी चुनाव जित्छौं।’

उनले एमालेका उम्मेदवारको प्रतिस्पर्धा नागरिक उन्मुक्तिसँग हुने बताए। एमालेले गठबन्धन र नागरिक उन्मुक्तिको असन्तुष्ठ मत आफ्नो पक्षमा हुने बताउने गरेको छ। उसको गठबन्धन भित्र अन्र्तघात हुने र थारु समुदाय जातीय मुद्दाका पछि नलाग्ने दाबी छ।  

वडाध्यक्षमा नेकाँ बिपीको ७८८, राप्रपाको ७७७ र स्वतन्त्रको १६६ मत छ। यो मत पनि एमालेले आफ्नो पक्षमा आउने दाबी गरेको छ। एमालेका स्थानीय युवा नेता केशरबहादुर साउँद स्वतन्त्रबाट उम्मेदवार रहेका छन्। उनले एमालेका मात्रै नभई काँग्रेसका समेत केही मत प्रभावित पार्ने आँकलन गरेका छन्। उनलाई एमाले र काँग्रेसका मत काट्न नागरिक उन्मुक्ति पार्टीले प्रयोग गरेको स्रोतको भनाई छ।  

टीकापुर नगरपालिकाको मेयरमा भने नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका थिए। रावलले ६ हजार ६४२ र शाहले ७ हजार ९५५ मत पाएका थिए भने मेयरमा विजयी थारुले ९ हजार ६४२ मत पाएका थिए। एमालेका मेयरका उम्मेदवार श्याम खत्रीको ४ हजार ९३३ र उपमेयर उपमा केसीको ४ हजार १९८ मत थियो। मेयरमा स्वतन्त्र लडेका ललित थापा शिवको १ हजार ५९९ मत थियो। उनी माओवादीबाट विद्रोह गरेर स्वतन्त्र लडेका हुन्। उनले गठबन्धनको मत काटेको चर्चा छ। यो पटक उनी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन्।

प्रकाशित: २४ कार्तिक २०७९ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App