राजनीति

मोरङ क्षेत्र नं. ३ को (क) मा बिहीबार मनोनयन दर्ता

निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क)  मा मनोनयन दर्ता गर्नका लागि बिहीबार समय तय गरेको छ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क)  मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीवार मनोनय दर्ता सहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए। उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउने बताए।

उनले भने,‘मोरङ जिल्ला प्रदेश सभा ३ अन्तर्गतको प्रदेश सभा क्षेत्र न १ का उम्मेद्वारको मुत्यु भएको छ। सोको लागि निर्वाचन आयोगले बिहीबार शुक्रबार निर्वाचन कार्यतालिका स्वीकृत गरेर सम्बन्धित निर्वाचन अधिकृतलाई पठाएको अवस्था छ। नेपाली काँग्रेसबाट उम्मेद्वारको मृत्यु भएको कारणले काँग्रेसबाट बिहीवार उम्मेद्वार मनोनय दर्ता हुन्छ। बिहीबार विहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनय दर्ता गर्नुहुन्छ। कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिन्छ।’

प्रकाशित: २३ कार्तिक २०७९ १२:२५ बुधबार

प्रतिनिधि सभा र प्रदेश सभा आयोगका उपसचिव ऋषिराम भुसाल मोरङ