राजनीति

हामी मिसिन गन बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनूस्ः थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन्।

बुधबार आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरुको साथ आवश्यक रहेको बताएका हुन्। उनले आयोग निर्वाचन स्वतन्त्र, भयरहीत, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरुपी मिसिन गन बोकेर मैदानमा खटेको बताए।

उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रुपमा गुलेली नचलाउन चेतावनी दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको महाअभियानमा अब सबै सरिक भइ महासागरमा मिसिने खहरेहरुलाई पनि सँगै लैजान आवश्यक रहेको बताए। उनले निर्वाचनको विरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरुप्रति लक्षित गर्दै खहरेहरु महासागरमा मिसिँदा केही धमिलो भएपनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने बताए।

उनले भने, ‘अब १२ दिन बाँकी हुनु भनेको निर्वाचन व्यवस्थापनको सन्दर्भमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नको निम्ति हामी एक किसिमले मिसिन गन बोकेर फिल्डमा उत्रिएका छौँ। अहिले हामी मैदानमा छौँ, यो निर्वाचनको मिसिन गन बोकेर। कहीँ कतै कुनाबाट गुलेली ताक्नेहरु पनि हुनसक्छन्, त्यसलाई हेर्दिने काम युवाहरुको हो। तपाईहरुले पत्ता लगाइदिनुपर्‍यो। अनावश्यक रुपमा गुलेली चलाएर मट्याङ्ग्राको सत्यनाश नगरिदिनुस् भनेर तपाईहरुले भनिदिनुपर्‍यो। केही असन्तुष्टि होलान्, चित्त नबुझेका कुरा होलान्, त्यसलाई हामीले मिलाउँदै जाने हो। तर निर्वाचनको यो महाअभियानमा अब हामी सरिक भएर जाने हो। महासागरमा खहरेहरुलाई मिसाएर जाने हो, खहरेहरु अलिकति धमिला हुन्छन्, एकछिन मिसिएपछि फेरि सफा भइहाल्छन्, ४ गतेभित्र सबैलाई सफा पार्नुपर्छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेपनि आयोगले भने तीन दिन अघिबाट मात्रै मदिरा बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्न आग्रह गरेको बताए। उनले यसमा युवाहरुले आयोगको आग्रहलाई आम नागरिक समक्ष सचेत गराउनुपर्ने बताए।

उनले भने, ‘यो पटक हामीले संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेको छ। तर हामीले तीन दिन अघिबाट मदिराको बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्नुपर्छ भनेका छौँ। यो जायज कुरा हो। यसमा खबरदारी गर्नुहोला। सूचना भेटेमा आयोगलाई दिनुहोला।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै युवाहरुले पराजित भएका उम्मेदवारहरुलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

उनले सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभइ त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसाथ गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको बताए। उनले निर्वाचन पछिको सामाजिक र राजनीतिक वातावरणलाई धमिलो हुन नदिन युवाहरुले भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुन्छ। यो निर्वाचनमा पनि त्यो संख्या ठूलो छ। अहिले हामी ४ गतेको निर्वाचनको मात्रै कुरा गरिरहेका छैनौँ। हामी सामाजिक संघसंस्थाले हेर्ने भनेको ४ गते पछिको हाम्रो समाज पनि हो। त्यसकारण तपाईहरुको प्रयत्नबाट हार्ने मान्छेले पनि जित्नेलाई स्वीकारेर बधाइ दिन सकोस्। जित्नेले पनि हार्नेलाई अंकमाल गरेर जानसक्ने वातावरण बनाउन प्रयत्न गर्नुपर्छ। हामीलाई ४ गतेको मात्रै चिन्ता छैन, ७ गते १२ गतेको पनि चिन्ता छ। यो निर्वाचन पछिको हाम्रो सामाजिक कस्तो हुन्छ? राजनीतिक वातावरण कस्तो हुन्छ? त्यसलाई धमिलो हुन नदिन पनि युवाहरुले आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ।’

कार्यक्रममा युवाहरुले निरक्षर मतादाहरुमा मतदाता शिक्षा दिन आवश्यक रहेको धारणा राखे। त्यस्तै उनीहरुले निर्वाचन केन्द्र अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तहरुको लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए। उनीहरुले युवाहरुलाई मतदाता शिक्षा सञ्चालन गर्न दिए मत बदर हुने सम्भावना कम हुने बताए। युवाहरुले विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि बताए।

प्रकाशित: २३ कार्तिक २०७९ १२:१६ बुधबार

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रम