राजनीति

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन्।

बुधबार र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन्। सत्ता गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन्।

उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रिया मात्रै कुरेर बसेको बताइन्। नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिबद्धता जनाइन्।

उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिबद्धता जनाइन्। उम्मेदवार घर्तीले। आम नागरिकहरुले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महशुस भएको बताइन्।

उनले भनिन्, ‘म र मेरो टिम धेरै नै उत्साहीत छ। घरदैलोमा जाँदा जनताले धेरै माया गर्नुभएको छ। हामी विजयीको लागि पहिल्यैबाट स्पष्ट छौँ। घरदैलोमा आउँदा झनै उत्साहीत भएका छौँ। विश्वस्त भएका छौँ। हामी मंसिर ४ को प्रक्रियालाई मात्रै कुरेर बसेका छौँ। हामी सत्तामा पुगेपछि जनताको हक अधिकार कुनैपनि कटौती नहुने गरी कानून बनाउनेछौँ। जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ। यो समुदाय भित्र ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा हुनुहुन्न। सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ। बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्या उठाउनुभएको छ। यी समस्यालाई सरकारको पहुँचसम्म पुर्‍याउनेछु।’

नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले  बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्‍याउने बताइन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०६:४७ बुधबार

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती सत्ता गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवार