राजनीति

उम्मेदवार टिकापुरका, चर्चा काठमाडौँमा

एमालेका उम्मेदवार द्धारिकाप्रसाद न्यौपाने।

चौतर्फी रुपमा एमालेविरुद्ध गठबन्धन भएका बेला कैलाली क्षेत्र नं। १ को प्रदेश सभा ‘ख’मा भने एमालेका उम्मेदवार द्धारिकाप्रसाद न्यौपाने र कांग्रेसका उम्मेदवार रणबहादुर रावलबीच चर्को प्रतिस्पर्धा रहेको छ। संघीय संसदको निर्वाचनमा शीर्ष नेता र नेतृत्वबारे चर्चा भइरहँदा कैलाली क्षेत्रको प्रदेश ‘ख’ मा उनीहरूको प्रतिस्पर्धाले देशभर चर्चा भइरहेको छ। खासगरी न्यौपानेले प्रस्तुत गरेको नमुना टिकापुर बनाउने विकासे योजनाको प्रस्तुतिकरण र प्रस्तावले चर्चा पाएको हो।

कांग्रेसको तर्फबाट बहालवाला प्रदेशमन्त्री रहेका रावललाई एमालेका न्यौपानेले कडा चुनौती दिँदै विकासे परियोजनाहरू प्रस्तुत गर्दा टिकापुर मात्र होइन केन्द्रमा पनि हलचल भएको छ। ‘संघीय संसदका सांसदहरूले नीति बनाउने हो, विकासका योजना प्रदेश सरकार र स्थानीय सरकारले गर्ने हो। त्यसकारण मैले कर्णाली करिडोर सहितको सुन्दर योजना ल्याएको जुन पूरा गर्नेछु’, न्यौपानेले उत्साही हुँदै भने।

विकासका योजनाहरू अघि सार्दै टिकापुरलाई कणाली करिडोर सहितको सुन्दर बगैंचा निर्माण गर्ने योजना अघि सारेपछि रावलको लागि न्यौपाने चुनौती बनेका हुन्। कैलाली १ मा राष्ट्रिय दल एमाले र कांग्रेसलाई रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारी रञ्जिता चौधरीको भन्दा प्रदेशका उम्मेदवारहरूको चर्चा बढी हुन थालेको हो। टीकापुर घटनालाई राजनैतिक मुद्दा बनाइनुपर्ने र पहिचानमा आधारित संघीयताको मुद्दा बोकेर करिब एक वर्षअघि रञ्जिताकै अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा कैलालीको टीकापुर क्षेत्रमा चार पालिकामा जितेका थिए। २०७४ मा भूमिगत रूपमै कैलाली १ बाट उम्मेदवार बनेका रञ्जिताका श्रीमान् रेशम चौधरी अत्यधिक मतले विजयी भएका थिए।

तर, अहिले वर्तमान मन्त्रीका विरुद्ध एमालेको तर्फबाट उम्मेदवारी दिएका न्यौपानेले कर्णाली करिडोर, खेलकुद राजधानी, पदम प्रकाशेश्वर प्रवेश जस्ता बृहत विकासे योजना ल्याएपछि सुदूर पश्चिममा मात्रै होइन केन्द्रमै चर्चा हुन थालेको छ। ‘उनले थ्रीडी मार्फत् आफ्नो योजना देखाइरहनुभएको छ जसले गर्दा एमालेका धेरै नेताले उहाँको प्रचार शैलीलाई अपनाएका छन्’, सुदूर पश्चिममका प्रेस चौतारी निकट पत्रकार विष्णुदत्त अवस्थीले भने।

न्यौपानेले आफ्ना योजना थ्रीडी मार्फत् प्रस्तुत गर्दै टीकापुरको छेउमा रहेको कर्णाली नदीमा कर्णाली करिडोर सहित बगैंचा, तटबन्धन र र्‍यापिटङ गर्ने उनको योजना अघि सारेका छन्। उता कांग्रेसका रावल पनि कम छैनन, उनले पनि केही विकासे योजनालाई अघि नसारेका होइनन् तर पुराना कामको फेहरिस्त भएकाले जनताले ध्यान दिएका छैनन्। रावल वर्तमान प्रदेश मन्त्री भएकै कारण उनको विषयमा जनताले मुख खोल्न सकेका छैनन्। ‘समाज परिवर्तनको उत्तरदायित्व मेरो पनि हो। यो क्षेत्रमा रहने हरेक नागरिकको रहनसहन, शिक्षा, स्वास्थ, रोजगारी, सुरक्षा जस्ता हरेक कुरामा ध्यान दिई सबैको मुहारमा हाँसो र खुशी ल्याउने मेरो कोसिस सधैं जारी रहने छ’, रावलले भने।

उनले चुनाव प्रचार(प्रसारको क्रममा पनि विगतकै विषयवस्तुलाई दोहोर्‍याएका छन्। रावलले आफ्नो फेसबुक पेजमा आफूले गरेका कामको विवरण राखेर पूरा हुन नसकेका कामलाई पूरा गर्ने वाचा गरेका छन्। तर, उनले आक्रमक रूपमा विकासे परियोजनाको कुनै योजना अघि सारेका छैनन्। ‘कर्णाली करिडोर, सत्तिस्थित पद्म प्रकाशेश्वर मन्दिरलाई कैलाश मानसरोवर जानुअघि पूजा गरेर मात्र जानुपर्ने धार्मिक मान्यता स्थापित गर्न, खेलकुद राजधानी, कृषक बैंक जस्ता योजना छन्, यी योजना मात्रै होइन कार्यान्वयन गर्ने प्रतिबद्धता हो’, एमालेका उम्मेदवार न्यौपानेले भने ‘मैले पाँच वर्षमा पूरा हुन नसकेका कुनै पनि योजना अघि ल्याएको छैन, मेरो कार्यकालैमा यी सबै काम गरेर मात्रै अघि बढने बाचा गरेको छु,पूरा गर्छु।’

एमाले उम्मेदवार न्यौपानेले अबको पुस्ताले पनि काम नगर्ने हो भने सधैंका लागि जनताबाट बहिष्कार हुनुपर्ने तर्क अघि सार्दै टिकापुरलाई मुलुकै नमूना शहर बनाएर आन्तरिक र बाह्य पर्यटकहरू भित्र्याउने बताए। ‘संघीय संसदले कानुन निर्माण गर्छ, नीति निर्माण गर्छ। हामीले प्रदेश सरकार मार्फत् विकासका योजना अघि सार्ने र कार्यन्वयन गर्ने हो। मेरो ध्यान पाँच वर्ष टिकापुर बनाउनेमै हुन्छ’, एमाले उम्मेदवार न्यौपानेले भने।

उनका अनुसार कर्णालीका आएको बाढीले सयौं विघा खेतको बाली नष्ट हुनको साथै बर्सेनि हजारौं मानिस डुबानले विस्थापित हुने गरेका छन्। त्यहीं कर्णालीको डुबानबाट बचाउन र बालीनाली नष्ट हुन नदिन आफूले कर्णाली करिडोरको अवधारणा चुनावमा ल्याएको बताएका छन्। कर्णाली चिसापानीदेखि सत्ति चौगुर्दीसम्मको ३८ किलोमिटर क्षेत्रलाई वैज्ञानिक तटबन्धन गर्नुपर्ने भन्दै न्यौपानेले आफ्नो चुनावी एजेण्डा बनाएको बताएका छन्। सो तटबन्धनबाट करीव पाँच लाख जनताको जिउधनको सुरक्षाको योजना हुन्छ।

त्यस्तै करिडोरबाट जलमार्ग पर्यटनको रूपमा प्रवद्र्धन गरी रोजगार सिर्जना गर्नुपर्ने, पदम प्रकाशेश्वर मन्दिरलाई मानसरोवरको पहिलो विन्दु बनाउने, सत्तिमा रहेको पदम प्रकाशेश्वर महादेवको मन्दिरमा भारत महाद्धिपबाट ८८ हजार ऋषिमुनि कैलाशयात्राको क्रममा यज्ञ गरेको स्थानलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्ने गराउने योजना न्यौपानेले अघि सारेका छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०५:०९ बुधबार

उम्मेदवार टिकापुरका चर्चा काठमाडौमा चौतर्फी एमालेविरुद्ध गठबन्धन