राजनीति

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फाइल तस्बिर। शेरबहादुर देउवा।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्। गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुःख व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

‘सुदूर पश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’,प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिनसमेत उनले निर्देशन दिएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो।  

प्रकाशित: २३ कार्तिक २०७९ ०४:१३ बुधबार

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त भूकम्पमा परी डोटीमा ज्यान गुमाएका