राजनीति

सबै धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने पार्टी नै काँग्रेस होः राठौंर

बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित जोगागाउँमा मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै।

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले सबै धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने पार्टी नै नेपाली काँग्रेस भएको बताएका छन्।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित जोगागाउँमा मंगलबार कात्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता राठौंरले विविध धर्म र संस्कृति भएको देशमा सबैको धर्म र संस्कृतिको सम्मान हुनुपर्ने बताए।

बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उनले भने, ‘जानकी गाउँपालिकाले यस मेलालाई सहयोग गर्ने र प्रवर्द्धन गरेको मैले पाए, यो राम्रो कुरा हो।’ पाँच दलीय गठबन्धनका कारण आफू बर्दिया क्षेत्र नम्बर २ छाडेर बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न आएको बताए।

‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितिले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो।’ आफूले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २२ कार्तिक २०७९ १३:०५ मंगलबार

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर