राजनीति

गठबन्धनलाई बागी र समाजवादीको डर

२०७४ सालमा वाम गठबन्धनका तर्फबाट कालिकोटबाट महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यको तयारीमा थिए। अन्तिममा उनलाई प्रदेशसभाको उम्मेदवार बनाइयो। प्रदेशसभामा निर्वाचित भएपछि उनी कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने। उनी अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। अघिल्लोपटकका प्रतिस्पर्धी नेपाली कांग्रेस उनको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादीको साथ पनि उनलाई छ।

वाम गठबन्धन हुँदा माओवादी केन्द्रका दुर्गबहादुर रावत कांग्रेसका भूपेन्द्रजंग शाहीभन्दा चार हजार ७०५ मतान्तरले विजयी भएका थिए। दुर्गबहादुरले २१ हजार ११२ मत प्राप्त गर्दा कांग्रेसका शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षहरूले पाएको मत हेर्ने हो भने माओवादी केन्द्र यहाँ पहिलो शक्ति हो।

मतका हिसाबले बलियो देखिए पनि प्रतिनिधिसभामा महेन्द्रबहादुर शाहीलाई उनकै पूर्वसहकर्मी काशीचन्द्र बरालले चुनौती दिएका छन्। कालिकोटमा ठकुरी र अन्य समुदायबीच द्वन्द्व छ। त्यसैको फाइदा बरालले उठाउन सक्ने अनुमान यहाँ गठबन्धनलाई छ। रास्कोट नगरपालिकाका पूर्वमेयर रहेका बराल माओवादी केन्द्रबाट विद्रोह गरेर पुतली चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनले आफ्नो चुनावी प्रचार सामग्रीमा ‘शासक होइन, सेवक रोजौं’ लेखेका छन्। ‘कालिकोटका जनताले आफूमाथि शासन गर्ने होइन, सेवकका रूपमा काम गर्ने जनप्रतिनिधि रोजेका छन्’, बरालले भने, ‘म स्वतन्त्रबाट उठेको भए पनि मतदाताले सेवकका रूपमा मत दिनेमा विश्वस्त छु।’

बागीको जबर्जस्त चुनौती भएकै कारण मंगलबार प्रचण्ड बरालको गृह पालिकामा गएर शाहीका लागि भोट माग्दैछन्। ‘बागीको चुनौती देखेरै रास्कोटमा गठबन्धनको कार्यक्रम गरिएको हो’, माओवादीका एक जिल्ला नेताले भने, ‘उक्त कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मंगलबार रास्कोट आउने कार्यक्रम छ।’

हुम्लाको प्रदेशसभा ‘क’ मा गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रका रनसिंह परियार चुनावी मैदानमा छन्। कांग्रेसका मंगलबहादुर शाहीले यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसजन मात्रै होइन, समुदायमा भिजेका शाहीका कारण यहाँ गठबन्धनका उम्मेदवार परियारलाई चुनौती छ। शाहीको उम्मेदवारी फर्ता गराउन कांग्रेस र गठबन्धनले प्रयास गरे पनि उनले मानेनन्। गठबन्धनभित्रैबाट बागी चुनौती बन्दा त्यसको फाइदा एमालेलाई पुग्न सक्ने देखिन्छ। यससँगै यहाँ एकीकृत समाजवादीका हस्तबहादुर शाही पनि चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही गठबन्धनबाट हुम्ला ‘क’ बाट साझा उम्मेदवार छन्। उनलाई कांग्रेसकै देबेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिएका छन्। ‘आफ्नैले स्वतन्त्र उम्मेदवारी दिँदा गठबन्धन दलमा आबद्ध अन्य दलहरूले पनि भोट नदिने अवस्था रहन्छ’, जुम्ला कांग्रेसका एक नेताले भने, ‘घरभित्रको झगडाले समस्या पार्छ कि भन्ने चिन्ता छ।’ शाही गठबन्धन परिचालन समितिका कर्णाली प्रदेश संयोजक पनि हुन्। स्थानीय तह निर्वाचनमा पनि यहाँको चन्दननाथ नगरपालिकामा कांग्रेसकै बागीले मेयर जितेको थियो।

कर्णालीमा बागी मात्रै होइन, सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादी पनि चुनौती बनेको छ। एकीकृत समाजवादीका चारजनाले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छन्। कालिकोट (ख) बाट विश्वराज बम, सुर्खेत २(क) मा जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय, (ख) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल, हुम्ला (क) बाट समाजवादीका केन्द्रीय सदस्य हस्तबहादुर शाही कलम चिन्ह लिएर चुनावी मैदानमा छन्।

कालिकोट (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका हिक्मतबहादुर विष्ट भए पनि समाजवादीका जिल्ला अध्यक्ष विश्वराज कलम चिन्हबाट चुनावी मैदानमा छन्। ‘कालिकोटमा एकीकृत समाजवादीको राम्रो संगठन हुँदाहुँदै पनि गठबन्धनबाट एक क्षेत्र पनि पाएनौं’, उनले भने, ‘त्यही भएर पार्टी केन्द्रकै सहमतिमा उम्मेदवारी दिएको हुँ।’

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी बागीका कारण आधिकारिक उम्मेदवारलाई समस्या हुने देखिएकाले छलफल चलिरहेको बताइन्। ‘कांग्रेस र माओवादी केन्द्रबाट बागी उठेकाहरूको भन्दा पनि समाजवादीका आधिकारिक उम्मेदवारका कारण केही समस्या देखिएको छ’, उनले भनिन्, ‘पार्टीको शीर्ष नेतृत्वले यो विषयमा छलफल गरिरहेको छ, केही दिनमै निर्णय आउला।’

उनले गठबन्धन संयन्त्रको निर्वाचन परिचालन तथा अनुगमन समन्वय समितिको बैठकमा गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई निष्क्रिय पार्नेबारे बृहत् रूपमा समीक्षा गरिएको बताइन्। ‘हामीले केन्द्रीय संयन्त्रलाई बागीको विषयमा तत्काल निर्णय लिनका निम्ति केन्द्रीय गठबन्धनको संयन्त्रलाई अनुरोध गरेका थियौं’, समिति संयोजकसमेत रहेकी केसीले भनिन्, ‘मतदान गर्ने दिन आउन लागिसक्यो केन्द्रले अहिलेसम्म निर्णय गरेको छैन।’

जहाँ चुनौती, त्यहीं सभा

स्वतन्त्र र एकीकृत समाजवादीका उम्मेदवारका कारण गठबन्धनका लागि चुनौती देखिएका निर्वाचन क्षेत्रमा मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का चुनावी सभालाई सम्बोधन गर्न जाँदैछन्।

प्रचण्डले हुम्ला र जुम्लामा एक–एक र कालिमोटमा दुईवटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी हुम्लाका नेता मनऋषि धितालका अनुसार हुम्लाको सर्केगाड, जुम्लाको खलंगा र कालिकोटको मान्म तथा रास्कोटमा गठबन्धनका दुई शीर्ष नेताले सम्बोधन गर्नेछन्। हुम्ला प्रतिनिधिसभामा गठबन्धनबाट माओवादी नेता छिरिङ डम्डुल लामा (भोटे) उम्मेदवार छन् भने प्रदेशसभा ‘क’ बाट माओवादीका रनसिंह परियार र प्रदेशसभा ‘ख’ बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार छन्।

यस्तै जुम्लाबाट प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीकै गोमा गौतम कुँवर छिन् भने प्रदेशसभा ‘क’ बाट कांग्रेसका ललितजंग शाही र प्रदेशसभा ‘ख’ बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन्। कालिकोटबाट प्रतिनिधिसभामा कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार छन् भने प्रदेशसभा ‘क’ बाट माओवादीका दुर्गाबहादुर राउत र प्रदेशसभाबाट कांग्रेसका हिक्मतबहादुर विष्ट उम्मेदवार छन्।

प्रकाशित: २२ कार्तिक २०७९ ०१:१७ मंगलबार

लोकतान्त्रिक वाम गठबन्धन महेन्द्रबहादुर शाही