राजनीति

पहिलेका सारथि, अहिलेका प्रतिस्पर्धी

कास्की निर्वाचन क्षेत्र नम्बर १ (१) हेभिवेट प्रतिस्पर्धी क्षेत्र हो, जहाँ नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वजनमुक्ति सेनाका बटालियन कमान्डर दीपक कोइराला प्रतिस्पर्धामा छन्।

गण्डकी प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका यी दुई उम्मेदवारमध्ये अधिकारी पूर्वगृह तथा स्वास्थ्यमन्त्री हुन् भने कोइराला गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन्। राजनीतिमा जे पनि हुन्छ भन्ने यो निर्वाचन क्षेत्रमा भएको भिडन्तले प्रस्ट पार्छ।

किनकि यो क्षेत्रमा अघिल्लो निर्वाचनमा एक अर्काका सारथि बनेका अधिकारी र कोइराला अहिले प्रतिस्पर्धी बनेका छन्। अघिल्लो निर्वाचनमा कोइरालाका प्रतिस्पर्धी रहेका कांग्रेसका जीवन परियार अहिले तिनै माओवादी उम्मेदवार कोइरालाका सारथि बनेर निर्वाचनको नेतृत्व हाँकिरहेका छन्।

राजनीतिमा बिरलै देखिने यो दृश्यले अहिले कास्कीका जनतालाई अचम्मित पारिरहेको छ। अहिलेका प्रतिस्पर्धी रहेका खगराज अघिल्लो निर्वाचनमा कास्की १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। एमाले र माओवादीबीच एकता भई नेकपा बनेर चुनाव लडेकाले त्यस निर्वाचनमा उनीहरू एक अर्काका सारथि थिए।

त्यही भएर तत्कालीन चुनावताका खगराज आफ्ना समर्थकलाई भन्ने गर्थे, ‘बरू मलाई भोट नहाल्नू तर यो दीपकलाई भोट हालेर जिताउनू। भोलि म आफैं दीपकको प्रतिस्पर्धी बने पनि मलाई भोट नहाल्नू बरू दीपकलाई नै हाल्नू। किनकि यो असल छ। युवा पनि छ र यसले भविष्यमा केही न केही गर्छ।’

तर समय सधैं एकनास हुँदैन। अहिले परिस्थिति फेरिएको छ। हिजोको नेकपा फेरि एमाले र माओवादी बनेर पुरानै अवस्थामा फर्किएका छन्। त्यही भएर त हिजोका सारथि अधिकारी र कोइराला एक अर्काका प्रतिस्पर्धी बनेका छन्। तर हिजो कोइरालाका लागि भोट माग्दा दिएको अभिव्यक्ति अधिकारीका लागि अभिशाप बनेको छ।

किनकि अघिल्लो पटक आफैंले गरेको भाषण अहिले उनलाई निल्नु न ओकल्नु भएको छ। अघिल्लो पटक जोसँग पराजित भए कांग्रेसका सहमहामन्त्री जीवन परियार, अहिले तिनैलाई बोकेर हिँडिरहेका छन्। जसका विरुद्ध खरो भाषण गर्दै हिँड्थे, उनी आज तिनैका लागि भोट मागिरहेका छन्।

उनका लागि यो संयोग भनौं वा बाध्यता, कोइरालालाई जिताउने उनी र उनकै पार्टीलाई जिम्मेवारी आइपरेको छ। किनकि हिजोका प्रतिस्पर्धी पार्टी अहिले गठबन्धन बनाएर चुनावमा होमिएका छन्। त्यसैले त भनिन्छ, ‘राजनीतिमा जे पनि सम्भव छ।’ प्रतिस्पर्धालाई दुवै उम्मेदवारले सहज रूपमा लिएका छन्। त्यसैले त उनीहरू आमनेसामने भएका छन्।

अधिकारी प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै त्यसपछि विकासको मूल फुटाउने जनतालाई बताउने गरेका छन्। २०४८ सालदेखि पटकपटक निर्वाचन लडेका उनले जित र हार दुवैको स्वाद चाखिसकेका छन्। कास्कीबाट केन्द्रमा सीधा पहुँच पुर्‍याउन सक्ने नेता आफू मात्र भएको बताउने गरेका उनलाई बूढा नेता भएको आरोप लाग्ने गरेको छ।

अर्कातर्फ कोइराला युवा नेता हुन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा रहेर पोखरा रंगशालाभित्र बहुउद्देश्यीय भवन (कभर्ड हल) निर्माण गरेर नेतृत्वले चाहे विकास गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरिसकेका छन्। उनलाई पनि केन्द्रमा सीधा पहुँच पुर्‍याउन नसक्ने आरोप विपक्षीले लगाउने गरेका छन्।

यो निर्वाचन क्षेत्रमा दुवै पक्षले आफूले जित्ने दाबी गर्दै आएका छन्। स्थानीय तह निर्वाचनमा गठबन्धन ५ सय मतले अघि छ। कोइराला भने यसपटक फराकिलो मतान्तरले जित्ने दाबी गर्छन् तर अधिकारी गृह क्षेत्रमा आफू बलियो रहेको बताउँछन्। स्थानीय तहमा देखिएको मतान्तर रूपा गाउँपालिकाबाट पूर्ति हुने उनी निकटका दाबी गर्छन्।

प्रकाशित: २१ कार्तिक २०७९ ०४:०६ सोमबार

राजनीतिमा जे पनि हुन्छ पहिलेका सारथि अहिलेका प्रतिस्पर्धी