राजनीति

बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती

चित्रबहादुर केसी,सूर्यप्रसाद पाठक,देवेन्द्र पौडेल र मञ्जु शर्मा।

राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले आफ्नै बाटोमा हिँडिरहेका छन्। यस्तो अवस्थाको सिर्जना यो निर्वाचनले गरिदिएको छ। त्यसैको अर्काे एउटा दृष्टान्त हो बागलुङ।

यो क्षेत्रबाट २०५६, २०६४ र २०७० मा सांसद् जितेका तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीसँग आफैले सहकार्य गरेर जिताएका सूर्यप्रसाद पाठक अहिले प्रतिद्वन्द्वी बनेका छन्। तर बागलुङमा कांग्रेससँग जनमोर्चाको दसकाैं द्वन्द्व चर्काे थियो। सामान्तवादलाई परास्त गर्ने भन्दै संघर्ष र काटमार गरिरहे पनि अहिले अपत्यारिलो लाग्नेगरी यी दुई शक्तिबीचको सम्बन्ध गाढा छ। उही पार्टीको संघर्षबाट सताइएकाहरू एकले आर्काेलाई मतदान नै गर्न तयार छन्। चित्र बहादुरलाई भोट माग्नै कांग्रेसका कार्यकर्ता घरदैलोमा देखिन्छन्।  

पाठक र केसीको सम्बन्ध ०७४ सालतिर अझ गाढा बनेको हो। पाठकले पार्टीसँगको सहकार्यमा केसीलाई उम्मेदवार बनाउने प्रस्ताव लिएर गए। तर केसी त्यस बेला दुर्घटनामा परेकाले स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारको रूपमा खटिन नसक्ने भन्दै पाठकको प्रस्ताव स्वीकार गरेनन्। पाठकलाई नै उठ्न आग्रह गर्दै आफूले जिताउने विश्वास दिलाए।

अहिले पाठक र केशी एक आर्काेमा हराउन सबै शक्ति खर्च गरिरहेका छन्। ८२ वर्षीय केसी मतदातासम्म युवा जोश र जाँगरका साथ पहाडका गाउँ, भीर कन्दरा र गौडा छिचोल्दै पुगिरहेका छन्। यो उमेरमा पनि मतदातासमेत कुनै उम्मेदवारमा नदेखिएको सक्रियता देखेर चकित बनिरहेका छन्।

सांसद् पद आफैंलाई आवश्यक नभएको र राजनीतिले गलत बाटो समातेकोले सही दिशामा ल्याउनका साथै लोकतन्त्र र प्रजातन्त्र जोगाउन उम्मेदवार बनेको केसीले बताए। पछि परेको यो क्षेत्रको विकासलाई गति दिन गठबन्धन गरेर चुनावमा मतदातामाझ यसरी हिँडिरहेको उनले सुनाए।  

चित्र बहादुरको साथ र सहयोगमा निर्वाचन जितेका पाठक भने केसीलाई सधै संसद्मा एउटै गित गाउने र गठबन्धन गरेर व्यक्तिगत स्वार्थका लागि सांसद् लिन यो उमेरमा पनि सक्रियता देखाएको आरोप लगाउँछन्। केसी भने जनमत पाएका केपी ओली जनताको छोरा भएर प्रतिगमन गरेको त्यस विरुद्ध लोकतन्त्र प्रजातन्त्र जोगाउन मोर्चा बन्दी गरेको बताउँछन्। हिँजो पनि राजाको प्रतिगमन र पञ्चायत व्यवस्थाविरुद्धको संघर्षमा कांग्रेससँग मोर्चामा उभिएको र अरूकै आग्रहमा सांसद् पदमा भिडिरहेको दाबी उनी गर्दछन्।

जिल्लामा जम्मा ३६ जना उम्मेदवार मैदानमा देखिएका छन्। उनीहरू आफ्नै रणनीतिका साथ विजय निकाल्न प्रतिस्पर्धा गर्दैछन्। तर क्षेत्र नं. १ मा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।  

क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका सूर्य प्रसाद पाठक, राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, कांग्रेस विपीबाट शिवलाल सापकोटा र स्वतन्त्र तर्फबाट चन्द्रबहादुर क्षेत्री मैदानमा छन्।  

क्षेत्र नं. २ मा माओवादीका देवेन्द्र पौडेल, एमालेका मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्री, नेपाल दलित पार्टी टेक प्रसाद कामी, राष्ट्रिय जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङ स्वतन्त्र तर्फ डिल प्रसाद कार्की, गणेश कुमार थापा, तुल्सीराम अर्याल उम्मेदवार छन्। प्रदेश तर्फ पनि एमाले र गठबन्धनकै बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। क्षेत्र नं. १ का दुई प्रदेशमा जम्मा ९ जना उम्मेदवार छन्।

क्षेत्र नं. १ मा प्रदेश १ मा एमालेका हिरा बहादुर खत्री, कांग्रेसका दीपेन्द्र बहादुर थापा, राप्रपाका डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क र स्वतन्त्रबाट दिपेन्द्र हमाल मैदानमा छन्। स्वतन्त्रका हमाल र एमालेका खत्री व्यवसायी हुन्। क्षेत्र नं. १ प्रदेशसभा २ मा एमालेका नवराज पौडेल, कांग्रेसका डिल्लीराम सुवेदी, राप्रपा नेपालका गोविन्द सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका सहविर थापा प्रतिस्पर्धामा छन्।

क्षेत्र नं. २ को प्रदेशसभा १ मा कांग्रेसका जित बहादुर शेरचन र स्वतन्त्रबाट प्रकास घर्ती मगर उठेका छन्। घर्ती माओवादी छाडेर स्वतन्त्र उम्मेदवार उठेका हुन्। उनी ०७४ सालमा स्थानीय गाउँपालिकाको अध्यक्ष निर्वाचित बनेका थिए।

हेवी वेट भनिएपनि चित्र बहादुरलाई यसपटक कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। कांग्रेससँगको विगतको तिक्कतापूर्ण सम्बन्ध र आफू जित्दै आएको निर्वाचन क्षेत्र परिर्वतन भएर २ नम्बरमा परेकाले अहिले क्षेत्र नं. १ बाट उठिरहेका उनलाई विरासत कायम गर्न सहज छैन। गठबन्धनका लोभी र प्रलोभनमा पर्ने खालका कार्यकर्ता पनि रहेकाले इमान्दारिता नदेखाउने अवस्था पनि आउने स्थानीय नागरिक समाजका प्रतिनिधि काजी गाउँले बताउँछन्। लोकतन्त्रको लागि जनमोर्चाले काङग्रेससँग सहकार्य गरेकाले आफूलाई गठबन्धनका कार्यकर्ताले इमान्दारिताका साथ भोट हाल्ने केसीको विश्वास छ।

पटकपटक यो क्षेत्रबाट निर्वाचित केसीलाई विकासको नेतृत्व गर्न नसकेको मतदाताको आरोप र असन्तुष्टि व्यापक सुन्न पाइन्छ। केसीका प्रतिस्पर्धी एमालेका पाठक आफू विकासलाई गति दिन पहुँचमा रहेकोले नेतृत्व दिने भन्दै अजेन्डामार्फत मतदातालाई रिझाइरहेका छन्। चित्र बहादुरलाई हराउन कृष्ण पौड्यालको नेतृत्वमा एउटा मसाल समूह एक महिना अगाडिदेखि बागलुङमा सक्रिय देखिएको छ।  

बागलुङका दुई वटै क्षेत्रमा यसअगाडि सांसद् बनेकादेखि नयाँले समेत जनतालाई ठूला सपना बाढदै विकासे अजेण्डामार्फत मतदाता रिझाउने कोशिस गरिरहेका छन्।

पाठकले ०७४को निर्वाचनमा गरेका अधुरा वाचा र अधुरा योजनालाई अगाडि बढाउने, उत्तर गंगा जलायशययुक्त ८ सय २१ मेघावाटको विद्युत आयोजना निर्माण गरी सिंगो जिल्लामा रोजगारी तथा जिविकोपार्जनमा सहयोग गर्ने, बसाइसराइँ र विदेश पलायन हुनबाट युवालाई रोक्ने, सडक र करिडोर व्यवस्थित गर्ने, बलेवा विमानस्थल सञ्चालन गर्ने पर्यटकीय क्षेत्रको विकास गरी आय वृद्धि गर्ने अजेन्डा छन्।  

व्यक्तिवादी प्रवृतिले यो जिल्लाको विकासमा पछि परेको ७७ वर्षीय कुलानन्द शर्माले बताए। जिल्लाको समग्र विकास तथा चेतनामा साझा चासो लिएर सामुहिक भावनाका साथ काम नहुँदा पूर्वाधारले मात्रैले जिल्ला विकसित बन्न नसक्ने उनको तर्क छ। विकास कार्यको खवरदारी र जितेकालाई सचेत गर्न स्वतन्त्र उम्मेदवार पनि मैदानमा देखिएका छन्। विकासका लागि सक्षम व्यक्ति जिल्लाले चयन गर्न उनीहरूले मतदाता माझ आवाज उठाइरहेका छन्।

क्षेत्र नं. १ मा उम्मेदवार बनेका पाठक जापानबाट जनप्रशासनमा विद्यावारिधि हासिल गरेका छन्। उनी व्यवसायी पनि हुन्। एनआरएनमा राम्रै पहुँच भएका उनका परिवार जापानमै व्यवसायमा संलग्न छन्। एमाले पार्टीको केन्द्रीय समिति सदस्य तथा जिल्ला इन्चार्ज भएर पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्।

पाैडेल र शर्माबीच कडा प्रतिस्पर्धा

बागलुङ २ मा देवेन्द्र पौडेल उम्मेदवार छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका उनी यो क्षेत्रमा दोस्रो प्रतिस्पर्धा गदैछन्। उनीसँग एमालेकी मञ्जु शर्मा चालिसे प्रतिस्पर्धा गर्दैछिन्।  

यो क्षेत्रमा विगतका पार्टी परिर्वतन गरी उम्मेदवार बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्री पहिले दुई दशक जति एमालेको स्थानीय प्रतिनिधिको रूपमा सक्रिय थिइन्। एमाले नगरउपाध्यक्ष समेतको जिम्मेवारीमा रहेकी उनी टिकट नपाएपछि उक्त पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट यो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार छिन्। उनले सिंगो क्षेत्रको शिक्षा स्वास्थ्य तथा पूर्वाधारको विकास गरी दैनिकी सहज बनाउने अजेण्डा बनाएकी छिन्। एमालेमा सक्रिय रहेका तुल्सीराम अर्याल पार्टी छाडेर यो क्षेत्रमै प्रतिनिधिसभाको लागि स्वतन्त्रमा उठेका छन्। जनमुक्ति पार्टीले रूपन्देहीका चित्र प्रसाद गुरुङलाई ल्याएर यो क्षेत्रबाट उम्मेदवार बनाएको छ।  

क्षेत्र नं. २ को प्रदेशसभा १ मा माओवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका प्रकास घर्ती ०७४ सालको स्थानीय निर्वाचनमा ताराखोला गाउँपालिकाको अध्यक्ष थिए। एमालेबाट प्रतिनिधिसभाको क्षेत्र नं. २ मा उम्मेदवार बनेकी मन्जु शर्मा चालिसे ०७९ सालको निर्वाचनमा कांग्रेसले गलकोट नगरपालिकामा टिकट नलिएपछि बागी उमेदवार उठेर ४ हजार मत पाएकी थिइन्। अहिले उनी एमालेबाट अहिले उम्मेदवार बनेकी हुन्। देवेन्द्र पौडेलसँग उनको प्रतिस्पर्धा हुने देखिएको छ। पेशाले रिटायर्ड नर्स उनी आफैं एक अस्पताल सञ्चालन गर्दछिन्। पार्टीको घोषणा पत्रअनुसार काम गर्ने र गाउँसम्म मानिसको दैनिकी सहज बनाउने न्युनत्तम पूर्वाधारमा केन्द्रित गर्ने उनी बताउँछिन्। कच्ची बाटो स्तरोन्नति गर्ने सरकारी विद्यालय र अस्पताल स्तरोन्नति गर्ने र विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने उनले मतदातासँग प्रतिबद्धता जनाएकी छिन्। निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यमा विशेष केन्द्रित हुने उनले बताइन्।

क्षेत्र नं. २ का क्षेत्र भौगोलिक रूपमा विकट छन्। उम्मेदवार समेत सबै मतदातासम्म पुग्न कठिन छ।  

पौडेलले पनि क्षेत्र नं. २ मा प्रशासनिक सुगमताका लागि इलाका प्रशासन कार्यालय खोल्ने, उत्तरगंगा जलविद्युत आयोजना, सुरुङ मार्ग निर्माण, मध्य पहाडी लोकमार्गको विस्तार, र पीच गर्ने बुर्तिबाङमा एक सय शैयाको अस्पताल बनाउने, अर्नाकोटमा होमस्टे र लघु जलविद्युत् आयोजना सञ्चालन गर्ने, प्रहरी चौकी र विद्यालयको संख्या थप गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन्।  

मञ्जु भने आफू यो क्षेत्रमा नर्स भएर काम गरेको र जनतासँग नजिक साथै उनीहरूको समस्या बुझेर समाधान गर्न सक्ने आधारमा आफू जित्न निकाल्न सक्ने दाबी गर्दछिन्।  

चारवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको बागलुङमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई वटा नगरपालिकामा नेपाली कांग्रेस र एउटामा एमाले र एउटामा जनमोर्चाले जितेको थियो। स्थानीय तहको मतका आधारमा ६ वटा गाउँपालिकामा पनि अहिलेको गठबन्धन अगाडि छ।  

बागलुङमा स्थानीय तहको निर्वाचन २०७४ मा १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेकोमा २०७९ सालको स्थानीय तहको निर्वाचन पाँच वर्षको यो अवधिमा १३ हजार ९ सय ७८ मतदाता थपिएका छन्। ०७९ स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पनि यो क्षेत्रको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसम्म १० हजार ९ सय ६७ मतदाता थपिएपछि बागलुङ जिल्लामा १ लाख ९२ हजार २ सय २७ जना मतदाता पुगेका छन्। नयाँ मतदाताको मत पनि निर्णायक हुने देखिएको छ।

०७४ सालको समानुपातिक निर्वाचनमा पाएको मतले पनि गठबन्धन अगाडि देखिन्छ। ०७४ सालको प्रतिनिधिसमा यस जिल्लाबाट नेपाली कांग्रेसले ३५ हजार ६ सय ३८, एमालेले ३० हजार ६ सय ३५ मत पाएको थियो। राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ मत पाएको थियो। माओवादीले १४ हजार ४ सय ५० मत पाएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय १२ मत पाएको थियो। विवेकशील साझा पार्टीले १ हजार १ सय ९६, देशभक्त जनगणान्त्रिक मोर्चाले ८ सय ६९ मत पाएको थियो।  

त्यस्तै प्रदेशसभा तर्फ यो क्षेत्रमा नेपाली कांग्रेसले ३३ हजार ६ सय ४०, नेपाल कम्युनिष्ठ पार्टी एमालेले २९ हजार ५४, राष्ट्रिय जनमोर्चा १६ हजार ७ सय ४, माओवादी केन्द्रले १३ हजार ८ सय ३३, राप्रपाले १ हजार ५ सय ७२ मत पाएको थियो।

प्रकाशित: २० कार्तिक २०७९ ०१:३७ आइतबार

चित्रबहादुर केसी सूर्यप्रसाद पाठक देवेन्द्र पौडेल मञ्जु शर्मा