राजनीति

बाजुरामा माओवादी र समाजवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको संकेत, काँग्रेसलाई सकस

नेकपा माओवादी केन्द्र बाजुराले प्रदेश निर्वाचन क्षेत्र (क) मा आफ्नो उम्मेदवारी कायमै राख्ने भएको छ। गठबन्धनका शिर्ष नेताहरुको सहमतिबाटै भएको निर्णय विरुद्ध एकीकृत समाजवादीले उम्मेदवार उठाएपछि माओवादी केन्द्र बाजुराले कसैलाई समर्थन नगर्ने बताएको छ।  

नेकपा माओवादी केन्द्र बाजुराका अध्यक्ष देवीचन्द्र बुढा दीपकले टिकट पाएको माओवादीले अन्य कुनै दललाई समर्थन गर्नु पर्ने बाध्यता नरहेको बताएका छन्। बाजुरा काँग्रेसले कुनै एक दललाई बोकेर जान सक्ने अवस्था नभएको र एकीकृत समाजवादीले माओवादीलाई समर्थन नगर्ने भएपछि मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने बताएका छन।

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा माओवादी केन्द्रबाट कर्णबहादुर विक र एकीकृत समाजवादीबाट नरेश शाही उम्मेदवार छन्। नेपाली काँग्रेसले चुनावी गठबन्धन पछि उम्मेदवार नै उठाएको छैन्। उम्मेदवारी दर्तामा कर्ण विक सहीत उम्मेदवारी दर्ता गराएको काँग्रेसले एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएपछि निर्णय लिन सकेको छैन्।

माओवादी र समाजवादी मध्ये कस्को उम्मेदवारलाई समर्थन गर्ने काँग्रेसलाई सकस परेको छ। माओवादी र समाजवादीका मत लिएर नै जित्ने सोच बनाएको काँग्रेसले कुनै एकलाई मात्र समर्थन गरे क्षति बेहोर्नु पर्ने अवस्था छ। जनमतमा समाजवादी भन्दा माओवादी बलियो भएपनि कुन उम्मेदवारलाई साथमा लिने भन्नेमा काँग्रेस भित्रै मत बाझिएको छ।

माओवादीको उम्मेदवारीलाई हलुको रुपमा लिन खोजिए परिणाम नराम्रो आउने माओवादी निकट पत्रकारको संगठन प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाहीले चेतावनी नै दिएका छन्। माओवादीसँग स्थानीय तह निर्वाचनको मत हेर्दा करिब ४ हजारको संख्यामा मत देखिन्छ। भने समाजवादीसँग करिब १३ सय मत संख्या छ ।

माओवादी भित्रै देखिएको दुई गुटको समस्याले समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ। तर माओवादी केन्द्रका अध्यक्ष देवीचन्द्र बुढाले त्यो हुनै नसक्ने बताएका छन्। टिकट पाउनु अघि केही हदसम्म समस्या थियो, हामीले नै आलोचना गरेका हौं, अब सिंगो पार्टीको अस्तित्वको कुरा हो, कसैलाई समर्थन गर्न सकिदैन् बुढाले भने।

समाजवादीका नेताहरु भने काँग्रेसको समर्थनमा नरेश शाहीको उम्मेदवारी रहेको दाबी गरिरहेका छन्। दुबै नेताहरुले आ आफ्नो पार्टीबाट आधिकारी टिकट ल्याएका हुन्, शिर्ष तहबाटै विकल्प खोजिनु पर्ने थियो, भएन्, अब सहमतिका लागि समय नै छैन्, त्यसैले हामीले हाम्रा उम्मेदवारको प्रचारमा लागेको समाजवादीका नेता मानबहादुर कार्कीले बताएका छन्।

चुनावी प्रचारमा भने दुबै दलका उम्मेदवार लागि परेका छन्। कर्णबहादुर विकको टिम आफ्नो प्रचारमा जुटिरहेको छ। भने नरेश शाहीको टिम पनि हिमाली चुनावी घरदैलो गरिरहेको छ। गठबन्धन भित्रको द्धन्द्धले नेकपा एमालेलाई नै फाइदा हुने अनुमान गरिएको छ।

आपसमा सहमति गर्न नसके र पार्टीको अस्तित्व नै स्वीकार्न नखोजे परिणाम सकारात्मक नै आउला भन्ने अवस्था नरहेको माओवादीका जिल्ला अध्यक्ष देवीचन्द्र बुढाले रेडियो कार्यक्रम साझा सरोकारमा बताएका छन्। पार्टीको निर्णय मान्न माओवादी कार्यकर्ता तयार छन्, तर निर्णय नै नगरिएको विषयमा तपाईहरुले समर्थन दिनु पर्छ भन्ने कुरा मान्न नसकिने बुढाले बताएका छन्।

शिर्ष तहबाट माओवादी उम्मेदवारका नाममा समर्थन गर्न निर्णय गरिएपनि समाजवादीले मान्ने अवस्था नै छैन् । सुदूरपश्मिचममा मात्र बाजुरा सहीत बैतडी र कंचनपुरमा पनि माओवादी र समाजवादीले एउटै क्षेत्रमा फरक फरक उम्मेदवार उठाएका छन। माओवादीले काँग्रेस र समाजवादीले इमान्दारीता नदेखाएको आरोप लगाएको छ।

माओवादी केन्द्रलाई बाहिर राखेर समाजवादीलाई समर्थन गरे काँग्रेसलाई जिल्लाभर क्षति हुने देखिन्छ। माओवादीका मतदाता निर्वाचन क्षेत्र (ख) मा पनि दुई हजार बढीको संख्यामा छन्। प्रदेश (क) मा काँग्रेसले समाजवादीलाई समर्थन गरेमा आफूहरुले सहयोग गर्ने अडानमा माओवादी छ।  

काँग्रेस नेताहरु आफ्नो चुनावी प्रचारमा छन्। प्रदेश (ख) मा केही माओवादी र समाजवादीका नेताहरुलाई साथमा लिएपनि प्रदेश (क) मा एक्लै चुनावी प्रचार गरिरहेको छ। समाजवादी र माओवादीका उम्मेदवार बीच सहमति नभए एमाले उम्मेदवार बल्देव रेग्मीलाई प्रत्यक्ष फाइदा पुग्ने छ। भने प्रतिनिधी सभा उम्मेदवार कर्णबहादुर थापा र प्रदेश (ख) का उम्मेदवार लालबहादुर थापालाई अप्रत्यक्ष सहयोग पुग्ने देखिन्छ।  

प्रकाशित: १९ कार्तिक २०७९ १३:२० शनिबार

कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धन