२०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन। स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो। त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रतिनिधिसभाले पाँच वर्षको कार्यकाल पूरा गर्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५५ साल माघ १ मा प्रतिनिधिसभा निर्वाचनको घोषणा ग¥यो। माओवादीको बढ्दो हिंसात्मक आन्दोलनका बीचमा २०५६ जेठ २० र जेठ ३ गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको निर्णयअनुसार निर्वाचन सम्पन्न भयो। दुई ठाउँमा एउटै उम्मेदवारले चुनाव जितेका कारण त्यही साल मंसिर २३ मा उपनिर्वाचन भएको थियो। त्यसमध्ये झापाको क्षेत्र नम्बर ६, मोरङ क्षेत्र नम्बर १ र रौतहटको क्षेत्र नम्बर ४ मा उपनिर्वाचन भएको थियो। चुनावपछि जितेर आउनेहरू युवा पुस्ता बढी थिए। चुनाव जितेर आउने धेरै सांसद ३० देखि ५० वर्ष उमेर समूहका थिए।
आमनिर्वाचन २०५६ मा ६ हजार ८ सय २१ वटा निर्वाचन केन्द्र तोकिएको थियो। निर्वाचन आयोगले त्यसका लागि २०५५ माघ ४ मा राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरेको थियो। त्यसपछि एक सयवटा राजनीतिक दलले चुनावमा भाग लिन दर्ता गराएका थिए। दर्ता गरेका दलमध्ये झन्डै एकचौथाइ दलले मात्रै चुनावमा भाग लिएका थिए। आमनिर्वाचन २०५६ मा ३९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, संयुक्त जनमोर्चालगायतले भाग लिएका थिए। स्वतन्त्र गरी दलबाट एक हजार ६०५ र स्वतन्त्रका तर्फबाट ६३३ जना गरी निर्वाचनमा कुल २ हजार २ सय ३८ जना उम्मेदवारले भाग लिएका थिए।
उम्मेदवारमध्ये २ हजार ९५ पुरुष र १४३ जना महिला रहेका थिए। त्यस समयमा पनि महिलाको उम्मेवारी निकै कम रहेको देखिन्छ। प्रत्यक्षमा मात्रै निर्वाचन लड्न पाउने व्यवस्थामा महिलालाई टिकट दिन राजनीतिक दलहरूले कञ्जुस्याईं गरेको देखिन्छ। त्यसबेला महिलालाई आरक्षणको सुविधा दिइएको थिएन। उठेका उम्मेदवारमध्ये १२ जना महिलाले चुनाव जितेर संसद् पुगेका थिए। स्वतन्त्र उम्मेदवार बनेकामध्ये कसैले पनि चुनाव जित्न भने सकेनन्।
कुल उठेका २ हजार बढी उम्मेदवारमध्ये १ हजार ५२७ जनाले मत कम लिएका कारण उनीहरूको धरौटी जफत भएको थियो। त्यस समयमा जम्मा ६ वटा दलले मान्यता प्राप्त गरेका थिए। दलको मान्यता प्राप्त गर्नका लागि कुनै पनि राजनीतिक दलले खसेको कुल मतको ५ प्रतिशत प्राप्त गर्नुपर्ने मापदण्ड राखिएको थियो। ५ प्रतिशत मत ल्याउन नसक्ने दलले संसद्मा प्रतिनिधित्व गर्न पाउँथे, तर राष्ट्रिय मान्यता भने दिइएको थिएन। ६ वटा दलले तोकिएको मापदण्डअनुसार मत प्राप्त गरेका थिए भने ३ वटा दलले ५ प्रतिशतभन्दा कम मत लिएर संसद्मा प्रतिनिधित्व गरेका थिए।
नेपाली कांग्रेसले १११ सिट जितेको थियो। त्यसैगरी नेकपा एमालेले ७१ सिटसहित दोस्रो दल भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी ११, नेपाल सद्भावना पार्टी ५, राष्ट्रिय जनमोर्चा ५, नेपाल मजदुर किसान पार्टी १ र संयुक्त जनमोर्चाले १ सिट जितेका थिए।
२०५६ को प्रतिनिधिसभा निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८ सय ३९ जना कुल मतदाता रहेका थिए। त्यसमध्ये ८८ लाख ९४ हजार ५ सय ६६ मत खसेको थियो। त्यो कुल मतको ६५.७९ प्रतिशत हो। खसेको मतमध्ये ८६ लाख ४९ हजार ६६४ मत अर्थात् ९७.२५ प्रतिशत मत सदर भएको थियो भने २.७५ प्रतिशत मत बदर भएको थियो। खसेको मतमध्ये ८३ लाख ९७ हजार ७३४ अर्थात् ९७.१७ प्रतिशत मत राजनीतिक दलले प्राप्त गरेका थिए। त्यसैगरी २ लाख ५१ हजार २८० मत अर्थात् २.८३ प्रतिशत मत स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका थिए।
प्रकाशित: १९ कार्तिक २०७९ ०१:१८ शनिबार