राजनीति

मतका लागि किसानको खेतबारी जोत्न पुगे उम्मेदवार

खेतबारीमा हलो जोत्दै एमाले प्रदेश (ख) का उम्मेदवार लालबहादुर थापा।

चुनावी प्रचारमा जुटेका नेताहरुले प्रचारप्रसारका गतिविधि तीव्र बनाएका छन्। मंसिर ४ गते हुने चुनाव नजिकिँदै गएपछि राजनीतिका दलका उम्मेदवारहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन्।

जनताको घरदैलोदेखि किसानको खेतबारीसम्मै पुगेर उम्मेदवारले मतदानका लागि आग्रह गरिरहेका छन्। कार्तिकको व्यस्त समयमा मतदाता गाउँमा कम भेटिने भएपछि किसानहरुकै खेतबारीमा पुगेर नेताहरु प्रचार गरिरहेका छन्। हलो जोत्ने, धान काट्न सहयोग गर्ने, कोटो टिप्न लाग्ने लस्ता गतिविधिमा नेताहरु सक्रिय देखिएका छन्।

बाजुरामा ५ जना प्रतिनिधिसभाका उम्मेदवार छन् भने प्रदेश क र ख गरेर ७ जना प्रदेश सभाका प्रतिनिधि छन्। नेकपा एमालेबाट प्रतिनिधिसभामा कर्णबहादुर थापा, प्रदेश (क) मा बल्देव रेग्मी र प्रदेश सभा (ख) मा लालबहादुर थापा उम्मेदवार छन्।

नेपाली काँग्रेसले गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रतिनिधिसभामा बद्री पाण्डेलाई उम्मेदवार बनाएको छ। भने प्रदेश निर्वाचन क्षेत्र (ख) मा पदमबहादुर शाही उम्मेदवार छन्। प्रदेश सभा (क) मा काँग्रेसले उम्मेदवार बनाएको छैन। गठबन्धनका नाममा छोडेको छ। तर त्यहाँ नेकपा माओवादी केन्द्रबाट कर्णबहादुर विक र एकीकृत समाजवादीबाट नरेश शाही उम्मेदवार छन्।

ती मध्ये नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि दयालबहादुर शाही, प्रदेश सभाका लागि काशी विक, नेपाली काँग्रेसबाट प्रदेश सभाका लागि जुना दानी, प्रतिनिधिसभाका लागि महा नेपाली, माओवादी केन्द्रबाट प्रदेश सभाका लागि कमलकुमारी शाह उम्मेदवार छन्।

उनीहरु आ-आफ्नै प्रचारमा व्यस्त छन्। नेकपा एमालेका नेताहरु सामूहिक चुनावी प्रचारमा छन्। प्रदेश सभा (क) को क्षेत्रका चार वटै पालिकाको घरदैलो सकेर एमाले प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर थापा प्रदेश सभा (ख) मा पुगेका छन्। भने बल्देव रेग्मी आफ्नै प्रदेश सभाको घरदैलोमा व्यस्त छन्।

प्रदेश सभा (ख) का एमाले उम्मेदवार लालबहादुर थापा पनि गौमुल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिका सकाएर त्रिवेणी नगरपालिकाको घरदैलोमा व्यस्त छन्। त्रिवेणीबाट प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर थापासहित नेताहरु सँगै छन्।

नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार बद्री पाण्डे र प्रदेश सभा (ख) का उम्मेदवार पदमबहादुर शाही पनि त्रिवेणी नगरपालिकाको घरदैलोमा छन्। उनीहरुले बडीमालिका नगरपालिकाबाट घरदैलो सुरु गरेका हुन्। राप्रपाबाट प्रतिनिधिसभामा जंगकुमार गिरी, प्रदेश सभा (ख) मा हिमाल शाही पनि घरदैलो अभियानमा नै जुटेका छन्।

जनता समाजवादीबाट प्रतिनिधिसभा उम्मेदवार रामबहादुर शाही, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले पनि आफ्नो प्रचारलाई निरन्तरता दिइरहेका छन्। यता प्रदेश सभा (क) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही र माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक पनि चुनावी प्रचारमा छन्।

उनीहरु दुईबीच सहमति नभएपछि दुवै जना चुनावी प्रचारमा छन्। गठबन्धनभित्रैको आधिकारी भन्नेमा निर्णय नहुँदा मतदाता समेत अन्योलमा हुने देखिएको छ। प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार जनकबहादुर रावल पनि चुनावी प्रचारमा छन्।

प्रतिबद्धता पत्र जारी गरेर घरदैलो सुरु गरिएका नेताहरुले घरदैलोमा भन्दा खेतबारीमा पुग्ने होडबाजी नै चलेको छ। खेतबारीमै पुगेर दुःख बुझ्न, समस्या सुन्न पाइने गरेको नेताहरुको प्रतिक्रिया भएपनि जनतामा भने खासै खुसी छैन

प्रकाशित: १८ कार्तिक २०७९ ११:४४ शुक्रबार

चुनावी प्रचार प्रतिनिधिसभाका उम्मेदवार