राजनीति

उम्मेदवार–उम्मेदवारबीच खुल्ला बहस गर्न जसपा ताप्लेजुङको आह्वान

जनता समाजवादी पार्टी ताप्लेजुङले उम्मेदवार–उम्मेदवारबीच सार्वजनिक खुल्ला बहसका लागि प्रतिस्पर्धी सबै उम्मेदवारहरुलाई आवहन गरेको छ।  

जनता समाजवादी पार्टीका तर्फबाट ताप्लेजुङमा प्रतिनिधिसभाका उम्मेदवार चन्द्र मादेनले चुनावी एजेण्डामा केन्द्रित रहेर उम्मेदवार–उम्मेदवारबीच सार्वजनिक खुल्ला बहसका लागि आवहन गरेका हुन्।

‘यो अभ्यासले मतदातामाझ चुनावी एजेण्डा चिनाउने छ भने एजेण्डाको सम्बोधनमा कसको कस्तो अवधारणा छ भन्ने पनि देखाउँछ’ सार्वजनिक खुल्ला बहसका लागि प्रतिस्पर्धी सबै उम्मेदवारहरुलाई आवहन गर्दै मादेनले भने । बहसका आधारमा ताप्लेजुङका मतदाताका लागि योग्य र सक्षम जनप्रतिनिधि चयन गर्न बाटो खुल्ने मादेनले विश्वास लिए।  

आउँदो निर्वाचन नेपाल र नेपालीको भबिष्यसंग जोडिएको भन्दै मादेनले खुल्ला बहसले विकास र समृद्धिका एजेण्डा स्थापित हुने र ति एजेण्डा सम्बोधनका उपायहरुमा उम्मेदवारका धारणा बुझेर मतदातालाई मतदान गर्न सहज हुने विश्वास लिए।  

उनले प्रतिनिधिसभाका उम्मेदवार र प्रदेशसभाका उम्मेदवारबीच फरक–फरक दृष्टीकोण र सवालमा बहस गर्न सकिने बताए। ‘शिक्षा,स्वास्थ्य,खानेपानी,भौतिक,पूर्वाधार,बिद्यालय,सडक,पुलपुलेसा लगायतका क्षेत्र छनौट गरी नियमित रुपमा उम्मेदवाहरुबीच सार्वजनिक खुल्ला बहस सञ्चालन गर्न सके सभ्य निर्वाचन वातावरण बन्ने थियो’मादेनले अपेक्षा राखेका छन्। जसपाले ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेशसभाका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछ।  

प्रकाशित: १७ कार्तिक २०७९ १०:१९ बिहीबार

जनता समाजवादी पार्टी ताप्लेजुङ