राजनीति

ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्छुः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्ने बताएकी छिन्।  

सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताएकी हुन्।  

बुधवार ललितपुर क्षेत्र नं. ३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमा बोल्दै उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिन्।  

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने उनले बताइन्। मन्त्री भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताइन्। त्यस्तै स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने पनि उनको भनाइ थियो।  

प्रकाशित: १६ कार्तिक २०७९ १०:२८ बुधबार

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल