राजनीति

मेयर हर्क साम्पाङको खानेपानी मिशनः भालुखोलाको पानी पनि ल्याउन सफल

तस्बिरः रोहित राई भालुखोलाको मुहानबाट वडा १५ स्थित सेउती पुलमा पानी खसालिएपछि वडाबासीसँगै रमाउदै मेयर हर्क साम्पाङ <br>

खानेपानीको एजेण्डा बोकेर धरानको मेयरमा निवार्चित भएका हर्क साम्पाङले फेरि नयाँ स्रोत थप्न सफल भएका छन्।

मेयर भएपछि निरन्तर खानेपानीको स्रोत थप्न लागिपरेका मेयर साम्पाङले मंगलबार भालुखोलाको पानी वडा नं १५ स्थित सेउती पुलमा खसाल्न सफल भएका हुन्। करिब ८ इञ्च पाइपबाट भालुखोलाको पानी खसालेको हेर्न मंगलबार दिउँसो सयौं मानिसहरु भेला भएका थिए। यो स्रोतबाट पनि मेयर साम्पाङले श्रमदानबाट नै पानी ल्याएका हुन्। मेयर भएयता उनले धरानमा श्रमदान अभियानबाट खानेपानीको स्रोत थप्ने काम गर्दै आइरहेका छन्।

भालुखोलाको मुहान धरानको वडा नं ४ मा पर्छ। हिउँदमा पनि पानी नसुक्ने यो खोलाबाट यसअघि पनि विभिन्न उपभोक्ता समिति बनाएर नगरबासीहरुले पानी पिउदै आएका छन् भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि यहीँ खोलाबाट पानी ल्याएर पिउदै आएको छ। यो खोलाबाट धेरैले मुहान प्रयोग गरेको कारण हिउँदामा स्रोत न्युन हुने बताइएको छ। शिवजट्टा झरनाको मुहानबाट पानी ल्याउन खोजेपनि स्थानीय उपभोक्ताहरुले आफ्नो मुहान पर्ने भन्दै विरोध जनाएपछि मेयर साम्पाङले भालुखोलाबाट पानी ल्याउने योजना अघि बढाएका थिए। अहिले भालुखोलाको सबैभन्दा तल्लो भेगबाट पानी ल्याइएको हो।  

धरानको सबैभन्दा बढी जनसंख्या भएको वडा नं १५ लाई लक्षित गरेर उनले भालुखोलाको पानी ल्याउने योजना बनाएका हुन्। पानीको नयाँ स्रोत थप्न सफल भएकोमा खुशी व्यक्त गर्दै साम्पाङले जंगलको भुमिगत स्रोतबाट पानी बोरिङ गर्न धेरै विजुली खर्च हुने भएकोले उक्त खर्च बचाउन सहतको स्रोत थप्न आफु लागिपरेको बताए। ‘बर्षायामको पानी भएपनि ७, ८ महिना ल्याउदा जंगलको पम्प चलाउन पर्दैन, र महिनामै लाखौं बजेट बच्छ,’साम्पाङले भने,‘सुक्खायाममा ४ महिना मात्र पम्प चलाउछौं।’भालुखोलाको पानी रिजर्ब गर्न हर्क साम्पाङ सपोर्ट कमिटी युकेले १ लाख लिटर क्षमताको पानीट्यांकी बनाइदिने पनि मेयर साम्पाङले जानकारी दिए। साथै उनले उनले अब सप्तकोशीबाट पानी ल्याउने परियोजनाको लागि केन्द्रीत हुने उनले बताए।  

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इञ्जिनियर राजु पोख्रेलका अनुसार वडा नं १५ लाई जंगलको पानी पम्प गरेर वितरण गर्दा धेरै खर्च हुन्छ। भालुखोलाको स्रोत थप हुँदा धेरै राहत मिल्ने उनले बताए। ‘हाम्रो लक्ष्य नै बर्षायामको बेला नै भएपनि पम्प चलाउन नपरोस्, र लाखौं विजुलीको खर्च जोगाउने हो। स्वास्तिका चोकमा निशानेबाट पानी ल्याउदा परिणाम देखिएको पनि छ,’उनले भने।  

मेयर साम्पाङले यसअघि पकुवा खोलाबाट पनि पानीको स्रोत थप गर्न सफल भएका थिए। यस्तै सर्दु, खर्दु र निशाने खोलबाट पनि १० इञ्च पाइपमार्फत पानी थप गरेर वितरण गरिरहेका छन्। यी सबैयोजनाहरु उनले श्रमदानबाट पुरा गरेका हुन्। यी योजनाहरुको लागि उपमहानगरपालिकाको न्युन मात्र खर्च भएको छ। विदेशमा रहेका धरानबासी, भूपू लाहुरे र तिनका परिवारहरुले अहिलेसम्म डेढ करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन् भने निशाने दोभानमा गोर्खा पिस फाउण्डेशन युके र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले ६३ लाख बढीको लगानीमा पानी ट्यांकी निर्माण गरिरहेको छ। 

प्रकाशित: १५ कार्तिक २०७९ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App