राजनीति

सरकारी सम्पती प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैनः आयुक्त भण्डारी

निर्वाचन आयोगले सरकारी सम्पतीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ।  निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतीको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो। 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताए।सरकारी सम्पतीको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहेपनि साधनश्रोत प्रयोगलाई आचारसंहीताले रोकेको बताए।

उनले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पतीको प्रयोग गर्न आचारसंहीतामा नै रोकिएको पनि स्पष्ट पारे।

उनले भने, ‘कुनै पालिकाको मेयर कुनै एउटा पार्टीको रहेछ भने उनले आफ्नो पालिका भित्र आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको सन्दर्भलाई लिएर प्रचारप्रसार गर्न पाउनुहुन्न। अन्यत्र जान पाउनुहुन्छ। त्यसरी प्रयोग गर्दा पनि पदीय हैसियतले जोजो सरकारमा आसिन हुनुहुन्। केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जो जो आसिन हुनुहुन्छ, उहाँहरुले पदीय हैसियतले प्राप्त गर्नुभएको जुन सेवासुविधाहरु छन्, त्यो सबै अलग्ग राखेर व्यक्तिगत हिसावले तपाई जान पाउनुहुन्छ। सरकारी सम्पतीको दुरुपयोग गर्न पाइँदैन। सरकारी सम्पती प्रयोग गरेर पार्टीको प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहीताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने विश्वास आयोगले लिएको बताए।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:१४ मंगलबार

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचन आयोग केन्द्रिय सरकार प्रदेश सरकार