राजनीति

सत्ताका लागि काँग्रेसको अपवित्र गठबन्धनः नेता बस्नेत

पत्रकार सम्मेलनमा पूर्व मन्त्री बस्नोत।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले नेपाली काँग्रेसले सत्ताका लागि अपवित्र गठबन्धन गरेको आरोप लगाएका छन्।

आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा एमालेसँग गठबन्धन गरेको ‘हिन्दुवादी पार्टी’का नेता बस्नेतले चुनावी अभियानको क्रममा सोमबार गृहजिल्ला उदयपुरमा पत्रकार भेटघाट गर्दै सो आरोप लगाएका हुन्।

बन्दुक बोकेर सशस्त्र युद्ध लडेको पार्टी नेकपा (माओवादी केन्द्र)सँग सत्ता प्राप्तिका लागि अपवित्र गठबन्धन गरेको आरोप लगाउँदै बस्नेतले यस्तो कार्यले विपीको प्रजातन्त्रको खिल्ली उडाएको बताए। ‘विपीले प्रतिपादन गरेको काँग्रेसको प्रजातन्त्र माओवादीसँगको गठबन्धनले खिल्ली उडाएको छ’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतको भनाइ थियो ‘जाँड रक्सी र गाँजा सेवन गराएर जनता मार्ने पार्टीसँग काँग्रेस मिल्नुले प्रजातन्त्रको संरक्षण र जनताको भावना सम्बोधन हुन सक्दैन।’

काँग्रेस र माओवादीभित्र आदर्श र मूल्य मान्यताको राजनीति स्खलित भइसकेको आरोप पनि बस्नेतले लगाउन भ्याए। राष्ट्रिय राजनीति र परिवेशको सन्दर्भमा बोल्दै उनले ठूला दलहरु देश र जनताभन्दा सत्तामा बढी केन्द्रित भएको बताए। सत्ता केन्द्रित राजनीतिक दलहरुका कारण राज्यका तीनवटै अङ्ग निकम्मा भएको उनको ठहर छ।

‘राज्यका तीनवटै अङ्गहरु जनताको सेवामाभन्दा सत्तामा केन्द्रित छन्’ उनले भने ‘काम गर्नुभन्दा क्षिन-क्षिनमा कर्मचारीको सरुवा, बढुवा गर्ने तथा कताबाट आर्थिक उपार्जन र भ्रष्टाचार गर्न पाइन्छ भन्ने ध्याउन्नमै छन्।’

काँग्रेस, एमाले र माओबादीजस्ता ठूला दलहरु आर्थिक उन्नतिका लागि चलखेल गर्ने, ठेक्का पट्टाको सेटिङ मिलाउने र आफन्तवादमा केन्द्रित भएको आरोप बस्नेतको थियो। उनले यस्तो प्रबृत्तिका कारण अब जनताले विकल्प खोज्ने बेला आएको बताउँदै बस्नेतले  संस्कृति र धर्म संरक्षण, देश विकास, समृद्धिका लागि ठूला दलहरुको विकल्प चाहिनेमा उनको जोड थियो। 

परिवर्तनको पंक्षधर पार्टीहरुबाट मात्र सम्भव रहेको भन्दै मुलुकको संकटकालीन घडीको अन्त्य गर्न पनि वैकल्पिक शक्तिको रुपमा राप्रपाको उदय भएको बस्नेतको जिकिर थियो। ठूला दलको राजनीतिक गन्ध धेरै आएको र फोहोरी खेल धेरै भएको भन्दै उनले अब नव नेपाल निर्माणका लागि राप्रपालाई मतदान गर्न आह्वान गरे।

ठ्रूला दलहरु जनजीविकाको सवालमा भन्दा ठूलठूला ठेक्कापट्टा, सेटिङ, कमिशनखोरी हुदै गएकाले जनताको मर्म र भावना अनुसार काम गर्न एकपटक राप्रपाको खाँचो उनले औँल्याए। २०२६ सालदेखि उदयपुरबाट सक्रिय राजनीति गर्दै आएका बस्नेत पञ्चायतकालमा पटक पटक मन्त्री भएका थिए।

८२ औँ वर्षका बस्नेतले हिजो जस्तो सक्रिय राजनीति गर्न नसक्ने भएकाले संसदीय राजनीतिबाट बाहिरिएको भन्दै राजनीति गर्ने क्रममा कतै आफूबाट त्रुटि भएको भए मञ्चबाट माफी माग्ने बताए। राजनीतिमा पुस्ता हस्तान्तरणको पाटो सबै पार्टीले नारामा मात्र सीमित गरेको भन्दै उनले मुलुकको विकासका लागि अब युवा जगत राजनीतिमा होमिनु पर्ने बताए।

प्रकाशित: १४ कार्तिक २०७९ १३:४५ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेत प्रतिनिधि तथा प्रदेशसभा चुनाव