राजनीति

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ। 

सोमबार काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेकाे हाे।

घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको छ। कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र बजार व्यवस्थापन गर्ने कुरालाई घोषणा पत्रमा मुख्य प्राथमिकता दिइएको पार्टीमा महासचिव भुसालले बताए।

किसानहरुलाई मलको अभाव हुन नदिनका लागि मल कारखानाको स्थापना गर्ने उल्लेख गरिएको छ। त्यसैगरी बाँझो भूमिको उपयोग, कृषि विमाको व्यवस्था, युवा लक्षित कार्यक्रम गर्ने कुरालाई पनि घोषणा पत्रको कार्यक्रममा समावेश गरिएको छ।

कृषि योग्य जमिनमा सिंचाइ पुर्‍याउनका लागि पूर्व–पश्चिम मेघा नहर निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालको पानी नेपालमै भन्ने अवधारणाका साथ सो प्रतिबद्धता पनि घोषणा पत्रका अघि सारिएको महासचिव भुसालले स्पष्ट पारे।

उनले स्थानीय कच्चा पदार्थमा आधारित घरेलु, ग्रामिण, साना तथा मझौंला उद्योग स्थापना र सञ्चालन गर्ने कुरालाई पनि घोषणा पत्रमा समावेश गरिएको बताए। बैदेशिक लगानीका लागि सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि घोषणा पत्रमा जनाइएको छ।

चुनावी घोषणा पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्!

प्रकाशित: १४ कार्तिक २०७९ ०८:५९ सोमबार

नेकपा (एकीकृत समाजवादी)