राजनीति

राप्रपाको घोषणापत्र: प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ।  

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रदेश संरचना खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मको कुरा उल्लेख छ।  

‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले  हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्ताव गरेको छ।  

त्यस्तै देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्र राप्रपाका प्रमुख एजेण्डा रहेका छन्।  

त्यसैगरी उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था। राजनीतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने, असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीतिको अवलम्बन, नेपालको भूभाग कसैका विरुद्ध प्रयोग गर्न नदिनेलगायतका विशेषता राप्रपाको घोषणापत्रमा समेटिएका छन्। 

प्रकाशित: १४ कार्तिक २०७९ ०६:३२ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी