राजनीति

फर्केर हेर्दा: २०४८ को स्थानीय सरकार

२०१७ पुस १ गते राजा महेन्द्रले सूत्रपात गरेको पञ्चायती व्यवस्था ३० वर्षपछि २०४६ सालमा जनताको बलमा अन्त्य भयो। नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले मुलुकमा प्रजातन्त्रको पुनर्बहाली भयो। आन्दोलनको बलमा बहुदलीय व्यवस्थासहितको २०४७ सालमा नयाँ संविधान जारी भयो। दुई सदनात्मक बहुदलीय शासन पद्धतिलाई आत्मसात नयाँ संविधानले ग¥यो। जनताको नजिकको सरकारका रूपमा स्थानीय निकायलाई अघि सार्दै गाउँरनगरका साथै वडा विभाजन गरियो। ३९ सय ९५ गाउँ विकास समिति र ३६ नगरपालिकाको व्यवस्था गरियो। गाविसमा ९ वडा र नगर क्षेत्रमा जनसंख्याको अनुपातमा ३५ सम्म वडा बनाउने व्यवस्था गरियो।

प्रत्येक वडाबाट एकजना सदस्यसहित सबै वडाबाट प्रमुख र उपप्रमुख (अध्यक्ष र उपाध्यक्ष) निर्वाचित हुने व्यवस्थाअनुसार २०४९ सालमा दुई चरणमा निर्वाचन भयो। पहिलो चरण अन्तर्गत २०३० गाउँ विकास समिति र ११ नगरपालिकामा निर्वाचनको कार्यक्रम २०४९ वैशाख २४ देखि सुरु गरी जेठ १५ मा मतदान र दोस्रो चरणमा परेका बाँकी १ हजार ९ सय ६५ गाउँ विकास समिति र २५ नगरपालिकामा २०४९ वैशाख २७ गतेदेखि निर्वाचन कार्यक्रम सुरु गरी जेठ १८ गतेका दिन मतदान गर्ने कार्यक्रम प्रकाशित भएको थियो।  

२५ वर्ष पुगेका र कानुनी र सार्वजनिक सम्पत्ति हिनामिना नगरेको नेपाली नागरिक उम्मेदवार हुन योग्य हुने व्यवस्था गरिएको थियो। १८ वर्ष पुगेका १ करोड २० लाख मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा ३ लाख ५० हजार प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचन भएको जेठ १५ र १८ गते बिदा दिनुका साथै जिल्लामा प्रत्येक राजनीतिक दललाई चार/चार र स्वतन्त्रलाई एक सवारी पास उपलब्ध गराइएको थियो। लामा तथा छोटा दूरीका सवारी बन्द गरिएको थियो। ३२ गाविसका साथै नगरका वडाहरूमा निर्वाचन स्थगित भएको थियो भने धनुषा र सप्तरीमा भएको झडपमा गोली चल्दा दुईजनाको निधन भएको थियो।  

मतदाता र प्रत्यक्ष निर्वाचन स्थानीय निकाय निर्वाचनमा राणाकालीन समयदेखि २१ वर्ष उमेर पुगेकालाई मतदातामा समावेश गरी मताधिकार दिई आएकोमा यस निर्वाचनमा १८ वर्ष  उमेर पुगेकालाई बालिग मानी मताधिकार प्रदान गरियो। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा एक वर्ष बसोबास  गरेका नेपाली नागरिकहरू मतदाता हुने साविककै व्यवस्था रहेको थियो। गाउँ विकास समिति तथा नगरपालिकाहरूका वडा सदस्य तथा अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको निर्वाचन प्रत्यक्ष निर्वाचन पद्धतिअनुसार अर्थात् यसभन्दा पहिलेकै प्रक्रियाअनुसारको प्रक्रिया अवलम्बन गरी गरिएको थियो।  

निर्वाचित हुने पद र संख्या प्रथम र दोस्रो चरण गरी गाउँ विकास समितिका ३ हजार ९ सय ९५ अध्यक्ष, त्यतिनै उपाध्यक्ष र ३५ हजार ९ सय ५५ सदस्यहरू एवं नगरपालिकामा ३६ प्रमुख, त्यति नै उपप्रमुख र ५ सय २२ सदस्यहरूको निर्वाचन गर्नुपर्ने थियो। गाउँ विकास समिति/नगरपालिका निर्वाचनमा मान्यता प्राप्त गरेका पाँच राजनीतिक दल र स्वतन्त्र समेत गरी करिब ३ लाख ५० हजार उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा खडा भएका थिए। कुल गाउँ विकास समिति ३ हजार ९ सय ९५ गाउँ विकास समितिका कुल पद ४३ हजार ९ सय ४५ कुल नगरपालिका ३६ नगरपालिकाका कुल पद ५ सय ९३ जम्मा पद ४४ हजार ५ सय ३९ निर्वाचन भएको थियो।

धरौटी र जफत गाउँ विकास समिति अध्यक्ष र उपाध्यक्ष पदको लागि १ सय र सदस्यहरूको लागि ५० तथा नगरपालिकाप्रमुख र उपप्रमुख पदका लागि ५सय र सदस्य पदका लागि २सय धरौटी राख्नुपर्ने व्यवस्था गरिएको थियो भने खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेको खण्डमा त्यस्ता उम्मेदवारले राखेको धरौटी जफत हुने व्यवस्था थियो। स्थानीय निकायको निर्वाचनमा देशभरि ५ हजार ७१ मतदान केन्द्र, उपकेन्द्रहरू थिए भने करिब ४० हजार सुरक्षाकर्मी र करिब ५५ हजार कर्मचारी दुवै चरणको निर्वाचनका लागि खटिएका थिए।

१ करोड २० लाख मतदातालाई त्यस निर्वाचनमा मताधिकार प्राप्त थियो।निर्वाचन चिह्न, मतपत्र र मतदान गाउँ विकास समिति/नगरपालिकाको निर्वाचनका लागि मतदाताहरूले तीन पदका लागि एउटै मतपत्रमा आपूmले रोजेको उम्मेदवारको चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था थियो। गाउँ विकास समिति र नगरपालिकाको मतपत्र छुट्टाछुट्टै गरी क्रमशः १४ र १३ चिह्नहरू राखिएको थियो। तीन पदका लागि चुनाव चिह्न अंकित एउटै मतपत्रको व्यवस्था थियो।  

निर्वाचन प्रचार–प्रसारको लागि गाउँ विकास समितिका अध्यक्ष र उपाध्यक्षको लागि अधिकतम दस हजार र सदस्यको लागि दुई हजार एवं नगरपालिकाप्रमुख र उपप्रमुखका लागि २५ हजार तथा सदस्यहरूको लागि १० हजार निर्वाचन खर्च हद तोकिएको थियो। उम्मेदवारले निर्वाचन खर्च विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतसमक्ष बुझाउनुपर्ने व्यवस्था थियो।  

२०४९ मा नेकपा एमालेले स्थानीय निकायमा २६.०७ प्रतिशत मत ल्याई ११ हजार ५ सय ८१ स्थानमा विजय हासिल गरी ८ जिल्ला सभापति पद लिन सफल  भएको थियो भने कांग्रेसले ५०.१४ मत  ल्याई २२ हजार २ सय ७० स्थानमा जित निकालेको थियो।

प्रकाशित: १४ कार्तिक २०७९ ०१:५३ सोमबार

२०४८ को स्थानीय सरकार