राजनीति

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवत्ता डा.प्रकाश शरण महतले निर्वाचनपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावि गरेका छन्। नेपाल प्रेस यूनियन चितवन शाखाले आज(आइतवार) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै महत्तले अहिलेकै दलहरुबीचको सहकार्यमा नेपाली कांग्रेसको सरकार बन्ने बताएका हुन्।  

‘लोकतान्त्रिक मुल्य मान्यता र संविधान माथि जतिबेलासम्म खतरा रहन्छ। त्यसबेलासम्म हामी साथै जान्छौँ। खतरा छैन भनेपछि स्वच्छ प्रतिस्पर्धा गरौँला। त्यो भविष्यको कुरा हो, महतले भने ‘आउने सरकार गठबन्धनकै बन्छ नेपाली कांग्रेसकै नेतृत्वमा बन्छ।’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र  डा.बाबुराम भट्टराईले सहित स्वयम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्ने बताउँदै आएका छन्। त्यसको प्रतिउत्तरमा प्रवक्त महत्तले नेपाली कांग्रेसको सरकार बन्ने दावि गरेका हुन्।  

‘हिजो त हामी जुन अवस्थामा थियौँ। त्यतिखेर त हाम्रै नेतृत्व खोजर आए।’ उनले भने, ‘जसको नेतृत्वमा सरकार बन्छ त्यो म हुन्छु भनेर हिँड्दैन।’ उनले पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने संकेत गरे। उनले निर्वाचन पछि पनि गठबन्धन नटुट्ने दावि समेत गरे। नेपाली कांग्रेसको ध्यान बढी सिट जित्नेमा गएको भन्दै बागी उम्मेद्वारहरुलाई गठबन्धनलाई सघाउन समेत गनुरोध गरे।  

‘उहाँ जुन ठाउँमा उभिनु भएको छ त्यो अहिले उपयुक्त छैन। अहिले व्यक्तिगत बिषय होइन। पार्टीमा को भयो भएन भन्ने कुरो होइन। धेरै योग्य साथीहरु हुनुहुन्छ। गठबन्धनमा कतिपय ठाउँमा छोड्न पर्ने हुन्छ। उहाँलाई त्यो ठाउँ छोडेर गठबन्धनलाई समर्थन गर्न म आग्रह गर्छु’, डा. महतले भने।

अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन अघि बढेकोले यसलाई अन्यथा सोच्न नहुने उनको भनाइ थियो। उनले बागी उम्मेदवारहरुलाई पार्टीले जिम्मेवारी दिएर उचित ठाउँमा व्यवस्थापन गर्ने भन्दै गठबन्धनको पक्षमा सहयोग गर्न आग्रह गरे। ‘उहाँहरुलाई पार्टीले मुल्याङ्कन गरेर जिम्मेवारी दिन्छ। राज्य संरचनामा पनि त्यस्ता साथीहरुलाई हामी जिम्मेवारी दिन्छौं’, उनले भने। नेपाली कांग्रेस बढी उम्मेद्वार उठाउने भन्दा पनि जित्ने गरि निर्वाचनमा भएको उनको भनाई थियो।

प्रकाशित: १३ कार्तिक २०७९ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App