राजनीति

सिन्धुपाल्चोकमा गठबन्धनविरुद्ध एमालेलाई किल्ला जोगाउन सकस

प्रजातन्त्र पुनः प्राप्तिपछि २०४८ को आमनिर्वाचनदेखि सिन्धुपाल्चोकमा जरोकिलो गाडेर बसेको एमालेलाई आशन्न प्रतिनिधिसभा चुनावमा ‘परम्परागत बिरासत’ जोगाउन मुस्किल पर्ने देखिएको छ।  

सत्तारुढ काँग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले यो पटक एक्लै चुनावी मैदानमा होमिएको छ। जिल्लाको पहिलो र तेस्रो शक्तिबीचको गठबन्धन, पार्टीमा आएको विभाजनलगायत कारण एमाले सकसमा परेको हो। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई संरक्षण गरे मात्रै गठबन्धनको पल्लाभारी हुने अवस्था छ।  

२०७४ को निर्वाचनमा एमाले–माओवादी मिल्दा प्रतिनिधि सभामा काँग्रेस ‘क्लिन स्विप’ भएको थियो। योपटक एमालेले काँग्रेसको त्यही नियति भोग्नुपर्ने खतरा छ। २०४८ देखि २०७० सम्मका पाँच निर्वाचनमा जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए। ती निर्वाचनमा एमालेले क्षेत्र नंं. १ र २ मा दुई/दुई, र ३ मा एक पटक चुनाव जितेको थियो।

क्षेत्र नं. १ मा काँग्रेसले दुई, माओवादीले एक, २ मा माओवादीले दुई र राप्रपाले एक तथा क्षेत्र नं. ३ मा राप्रपाले तीन र माओवादीले एक पटक चुनाव जितेका छन्। २०७४ मा दुई निर्वाचन क्षेत्र कायम हुँदा वाम गठबन्धनबाट क्षेत्र नं. १ माओवादी र २ एमालेले जितेका थिए। समग्र ६ चुनावमा एमालले एक्लैले विभिन्न क्षेत्रबाट ६ पटक निर्वाचन जितेको थियो। २०६४ को संविधान सभा निर्वाचनमा बाहेक एमाले कहिल्यै क्लिन स्विप हुनु परेको थिएन।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा गठबन्धनबाट माओवादीका माधव सापकोटा चुनावी मैदानमा छन्। एमालेले सरेश नेपाललाई उम्मेदवार बनाएको छ। यो क्षेत्रमा १४ उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा भने सापकोटा र नेपालबीच हुने देखिएको छ। २०७४ को निर्वाचनमा यो क्षेत्रबाट माओवादीका अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए। एमाले समेतको मतमा उनले काँग्रेसका मोहनबहादुर १० हजारभन्दा बढी मतान्तरले बस्नेतलाई पराजित गरेका थिए।

गठबन्धनमा क्षेत्र नं. १ माओवादीलाई परेपछि बस्नेत अहिले २ नं. मा पुगेका छन्। युवाको लागि भन्दै सभामुख सापकोटाले यो पटक मैदान खाली गरिदिए। भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, बलेफी, जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र चौतारा नगरको वडा नं. २,३,४, ९ र १० क्षेत्र नं. १ मा समेटिएका छन्। स्थानीय तहको मत परिणामअनुसार यहाँ काँग्रेस पहिलो शक्ति हो।

काँग्रेस एक्लैले ३४ हजार ९ सय ६१ मत ल्याएको थियो। त्यस्तै गठबन्धनको माओवादीले १९ हजार ३ सय ३४ र एकीकृत समाजवादीले २ हजार ३ सय ९१ मत पाएका थिए। एमालेले २६ हजार ५ सय ५९ मत प्राप्त गरेको थियो। यसरी हेर्दा गठबन्धनसँग ५६ हजार ६ सय ८६ मत छ। एमालेभन्दा गठबन्धन ३० हजार १ सय २७ मतले अघि छ।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा गठबन्धनबाट काँग्रेसका बस्नेत र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा आमने–सामने छन्। यो क्षेत्रमा १३ उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा बस्नेत र तामाङबीच हुने स्थानीय तह चुनावको अंकगणितले देखाउँछ। बस्नेत र तामाङ यो क्षेत्रबाट पहिलो पटक प्रतिस्पर्धी बनेका हुन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका पशुपति शमशेर राणालाई पराजित गर्दै तामाङ निर्वाचित भएका थिए। राणालाई ८ हजारभन्दा बढी मतान्तरले पछाडि पार्दै तामाङले चुनाव जितेका थिए। माओवादी समेतको मतले तामाङ निर्वाचित हुँदा राणालाई काँग्रेसले सघाएको थियो।

काँग्रेसका बस्नेतले क्षेत्र नं. १ बाट दुई पटक चुनाव जित्दा तामाङ पनि २ बाट दुईपल्ट निर्वाचित भइसकेका छन्। बस्नेत २०५६ र २०७० तथा तामाङ २०७० र २०७४ मा निर्वाचित भएका थिए। यी दुई पूर्वमन्त्री ‘हेभिवेट’ उम्मेदवारको चुनावी भिडन्त हेर्न लायक हुनेछ। यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका नौवटा वडा, इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल र मेलम्ची नगरपालिका समेटिएको छ।

स्थानीय तह निर्वाचनको मतपरिणाम भने गठबन्धनको पक्षमा देखिन्छ। यहाँ गठबन्धन एमालेभन्दा १६ हजार २ सय ४९ मतले अगाडि देखिन्छ। गठबन्धनसँग ४७ हजार २५ र एमालेसँग ३१ हजार ७ सय ७६ मत छ। स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको भोटको आधारमा काँग्रेसले २९ हजार २ सय ९३, माओवादीले १६ हजार ६९ र एकीकृत समाजवादीले १ हजार ६ सय ६३ मत ल्याएका थिए।

गठबन्धनका काँग्रेस-माओवादी स्थानीय चुनावमा प्राप्त गरेको मत संरक्षण गरेरै जित्ने दाउमा छन्। चुस्त पार्टी र चलायमान कार्यकर्ताद्वारा संगठित एमाले भने पार्टीको मत बढाउँदै गठबन्धनका असन्तुष्ट कार्यकर्ता र अन्य साना दलका कार्यकर्ताको मन जितेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिएको छ।

प्रकाशित: १२ कार्तिक २०७९ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App