राजनीति

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्।

बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन्।

उनले अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन्। उनले विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताइन्।

उनले भनिन्, ‘हामी आज तपाईहरुको सामु आएका छौँ। देशको समृद्धिकै लागि हो। अरु हामीसँग एजेण्डा केही पनि छैन। यो देशको विकास बाहेक अरु छैन। हामीले भनेको जस्तो देश भएको छैन होला। तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडी बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ। सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफूले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन्।

प्रकाशित: ९ कार्तिक २०७९ ०६:५५ बुधबार

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्ती साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रम