राजनीति

अरु पार्टी प्रतिष्पर्धा गर्न योग्य छैनन्, हाम्रो प्रतिष्पर्धी एमाले होः अध्यक्ष लिङदेन

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन्।

आइतबार काठमडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन्। उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे।  

आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने उनले बताए। उनले काँग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए।  

अध्यक्ष लिङदेनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए। एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हिनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने उनको भनाइ छ।  

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताइन्। उनले नेपाली काँग्रेसका मतदाताहरुले किसुन जी, गणेशमान सिंह र बिपी कोईरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताइन्।

प्रकाशित: ६ कार्तिक २०७९ ०६:१७ आइतबार

राजेन्द्र लिङदेन