राजनीति

आलोचनापछि निर्वाचन शिक्षा गीत हटाइयो

निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि तयार पारेको गीत रिलिज भएको २४ घन्टा नबित्दै सामाजिक सञ्जालबाट हटाएको छ। ‘घिन्घिनघिन् तङ’ बोलको गीतको गुणस्तरलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि आयोगले गीत हटाएको जनाएको छ।  

आयोगको आधिकारिक पेज र ट्वीटर ह्यान्डलमा एक सूचना जारी गर्दै गीत हटाएको सूचना पनि उल्लेख गरिएको छ। ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यसअगाडि पोस्ट् भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ।

निर्वाचन आयोगको लगानीमा मोडल तथा पूर्वरेडियोकर्मी हेम सुवेदी र उनकी पत्नी आकृति सुवेदीको आवाजमा उक्त गीत तयार पारिएको छ। एक मिनेट १६ सेकेन्डको उक्त गीत आयोगले शुक्रबार सामाजिक सञ्जालमार्फत रिलिज गरेको थियो। गीत सामाजिक सञ्जालमा राखेसँगै उक्त गीतको गुणस्तरबारे चर्को टीकाटिप्पणी भएको थियो। अधिकांश टिप्पणीकर्ताले जनताको करबाट उठेको राजस्वबाट तयार पारिएको गीतको गुणस्तर अपेक्षाकृत नभएको भन्दै आलोचना गरेका थिए। यस्ता टिप्पणीकर्ताले कमिसनको चक्करमा आयोगका पदाधिकारीले गुणस्तरहीन गीत तयार पारेको आरोप लगाएका थिए।

यसरी आलोचना हुन थालेपछि आयोगले २४ घन्टा नबित्दै गीतलाई हटाएको हो। सामाजिक सञ्जालबाट हटाएपछि पनि आयोगप्रतिको आलोचना थामिएको छैन। आलोचनाकर्ताले सम्बन्धित कर्मचारी र पदाधिकारीमाथि छानबिन र कारबाही हुनुपर्ने बताएका छन्।

‘कोही आम जनताले गल्ती गर्दा जरिवाना तिर्न लगाउँछन्। यसमा जोकोही कर्मचारीको गल्ती छ। उसलाई पनि जनतासरह कानुनी कारबाही हुनुपर्‍यो। यो सोसल मिडियामा मात्र क्षमा मागेर हुँदैन’, आयोगको पोस्ट्मा जितेन्द्र मण्डलले लेखेका छन्। आयोग स्रोतका अनुसार यो गीत तयार पार्न लाखौं रकम खर्च भएको छ।

प्रकाशित: ६ कार्तिक २०७९ ०१:५१ आइतबार

निर्वाचन आयोग