राजनीति

चुनाव जित्नु नै मेरो लागि पहिलो महत्वपूर्ण कुरा: काँग्रेस नेता केसी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले आगामी चुनाव जित्नु नै आफ्ना लागि पहिलो महत्वपूर्ण कुरा भएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमबाडौँवासी सोलुखुम्बुका मतदाताहरुलाई चुनाव अगावै आगामी निर्वाचनमा भोट हाल्न पठाइदिन काठमाडौंस्थित पार्टी समन्वय समितिहरुलाई निर्देशन दिएका हुन्। उनले मतदातालाई जिल्ला पठाउँदा अन्य पार्टीका मानिसहरु पनि त्यही हुलमा मिसिनसक्ने भन्दै सचेत रहन आग्रह गरे। नामै किटान गरेर नेकपा एमालेका कार्यकर्ताहरु पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जानसक्ने उनले आरोप लगाए। उनले आफू ६ पटक निर्वाचन लडिसकेको अनुभवका आधारमा विगतमा पनि यस्ता गतिविधि भएको भन्दै यसवर्ष गठबन्धन भएका कारण एउटाले अर्कालाई नचिन्ने नाममा गठबन्धनको सवारीसाधन प्रयोग गरी नेकपा एमालेका मतदाताहरु जिल्ला पुग्नसक्ने बताए। वि.सं.२०६४ मा नेकपा (माओवादी केन्द्र) ले पनि काँग्रेसले पठाएका मानिसको हुलमा आफ्ना कार्यकर्ता पठाएका कारण आफूले निर्वाचनमा पराजय व्यहोर्नुपरेको उनको भनाइ थियो।  

सोलुखुम्बु जिल्लाबाट गठबन्धनको बलमा उम्मेदवारी दिएका नेता केसीले नेकपा एमालेबाट  सोलुखुम्बु जिल्लामा उम्मेदवारी दिएका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिसलाई जनताले चुन्न नहुने बताए। उनले एमाले उम्मेदवार राईले सिंहदरबार कहाँ छ? भनि सोध्नुपर्ने स्थिति रहेको बताए। उनले आफूलाई सिंहदरबारमा कहाँ ढुकुटी छ र कहाँ फाइल छन् भन्नेकुरा सबै थाहा भएको तर नेकपा एमालेका उम्मेदवारको केन्द्रसँग कुनै लिंक नभएको भन्दै आफूलाई जिताए जिल्लामा विकास निर्माणले गति लिने बताए। बहुमतको सरकार बनाउँदा समेत नेकपा एमालेले प्रदेश १ को नामाकरण गर्न नसकेको भन्दै एमालेलाई जिताउनु नहुने उनको तर्क थियो।  

नेता केसीले गठबन्धनले देश, जनता र संविधानलाई फाइदा हुने काम गर्ने दाबी गरे। उनले अहिलेको अवस्थाको गाउँको फोटो खिचेर राख्न र आफूले जितेको ३ वर्षपछिको परिवर्तनसँग सोलुखुम्बुको मूल्यांकन गर्न चुनौती दिए। गबठन्धनका ५ दल मिल्दा पनि नेकपा एमालेले जितेको खण्डमा गठबन्धनका कुनै दलको पनि अस्तित्व नरहने उनो भनाइ थियो।

प्रकाशित: ५ कार्तिक २०७९ १२:३४ शनिबार

नेपाली कांग्रेस