राजनीति

निर्वाचनमा महिलाको सहभागीता कम भयोः ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागीता बढाउन जोड दिनुपर्ने बताएका छन्।

वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौँ क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहेकी नेतृ घर्तीले महिलाहरु विभिन्न आन्दोलन र लडाईंका मोर्चाहरुमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व कम भएको गुनासो गरिन्।

निर्वाचनमा पनि महिलाहरुको सहभागीता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन्। नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन्।

उनले आगामी ५ वर्षपछि महिलाहरु हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताइन्। उनले आफूले देश र जनताको लागि काम गरेको उल्लेख गर्दै ५ वर्षपछि अन्य महिला नेतृहरु निर्वाचन र नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने बताइन्। उनले राज्यले महिलाहरुलाई नेतृत्वका लागि अवसर प्रदान गरे महिलाहरु नेतृत्व सम्हाल्न योग्य भएको पनि बताइन्।  

प्रकाशित: ३ कार्तिक २०७९ १४:१० बिहीबार

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती