नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन्। उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र वृहत शान्ति सम्झौताका अपूर्ण कामहरुलाई पूर्णता दिन नसके देशको निकास नहुने बताए।
नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताए।
उनले भने, ‘यो गठबन्धन पवित्र उद्देश्यले बनेको गठबन्धन हो। यदि यो गठबन्धनले संविधान रक्षा गर्न सकेन भने वृहत शान्ति सम्झौताका अपूर्ण कामहरु गर्न सकेनन् भने म दावाका साथ भन्नसक्छु, यो देशको निकास हुन्न भन्नेकुरा बुझ्न जरुरी छ।’
गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने दाबी गरे। उनले आम नागरिकको गठबन्धनप्रतिको मायाका कारण आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरु विजयी बन्ने सुनिश्चित रहेको पनि बताए।
उनले गठबन्धनका साझा उम्मेदवारहरुले रसुवामा निर्वाचन हारेमा पूरा रसुवाबासीले नै हार्ने जिकिर गरे। उनले रसुवा जिल्लाको भविष्य उज्वल बनाउन चुनावका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिए। उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए।
प्रकाशित: २९ आश्विन २०७९ ०८:४२ शनिबार