प्रतिनिधिसभा सदस्य तर्फका कास्कीका उम्मेदवारले आगामि निर्वाचनमा बढीमा ३१ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने भएका छन्। यो नै कास्कीका उम्मेदवारले पाउने सबैभन्दा बढी निर्वाचन खर्च हो। निर्वाचन आयोगले कास्की–३ का उम्मेदवारका लागि ३१ लाख रुपैयाँको खर्च सिमा तोकिदिएको छ। कास्की–१ का उम्मेदवारले २९ लाख र कास्की–२ का उम्मेदवारले भने २७ लाख रुपैयाँ मात्र खर्च गर्न पाउनेछन्।
प्रदेशसभा सदस्यका उम्मेदवारले भने बढीमा १९ लाख रुपैयाँ मात्र खर्च गर्न पाउँछन्। निर्वाचन कार्यालयका अनुसार कास्की ३ (क) र (ख) का उम्मेदवारले १९ लाख रुपैयाँका दरले गर्न पाउँनेछन। कास्की–१ (क) का उम्मेदवारको खर्च सिमा १७ लाख रुपैयाँ छ भने कास्की –१ (ख)का उम्मेदवारको खर्च सिमा १५ लाख रुपैयाँ छ । कास्की–२ (क) र (ख) का उम्मेदवारले भने १५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउँनेछन्।
‘कास्की–३ तुलनात्मक रुपमा दुर्गम क्षेत्र हो । त्यही भएर त्यस क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारको खर्च सिमा अरुको भन्दा बढी छ,’ निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘मतदाता संख्या, भौगोलिक अवस्थाका आधारमा निर्वाचन आयोगले उम्मेदवारको खर्च सिमा तोकिदिएको छ। त्यही सिमाभित्र रहेर उम्मेदवारले खर्च गर्नुपर्छ।’ जिल्ला अनुसार सुुगम, दूर्गम र मतदाता संख्याका आधारमा फरक खर्च सिमा तोकिदिने गरेको न्यौपानेले बताए । कास्की ३ का केही भेग निकै नै दुगर्म क्षेत्र पर्छन।
निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा सबैगरि २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन्। ती मध्ये सबैभन्दा बढी कास्की–१ का १ लाख १० हजार ७ सय १५ जना रहेका छन्। कास्की १ (क) मा ५८ हजार ४ सय ४५ र (ख) मा ५२ हजार २ सय ७० जना मतदाता रहेका छन्।
त्यस्तै कास्की–२ मा ७९ हजार १ सय ३८ जना मतदाता मात्र रहेका छन् कास्की २ (क) मा ४२ हजार २ सय ८२ र (ख) मा ३६ हजार ८ सय ६५ जना मतदाता रहेका छन्। कास्की–३ मा भने १ लाख १ हजार ७ सय १५ जना मतदाता रहेका छन्। कास्की ३ (क) मा ५२ हजार ८ सय ६२ र (ख) मा ४८ हजार ८ सय ५३ जना मतदाता रहेका छन। कास्कीमा सबैगरि ३४४ मतदान केन्द्र रहेको आयोगले बताएको छ।
कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये तुलनात्मक रुपमा कास्की ३ ले दुर्गम भेग समेट्छ। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रसम्मको सबै भेग कास्की ३ मा पर्छ। अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका र पोखरा महानगरपालिकाका ११ वटा वडा यो क्षेत्रमा समेटिएका छन् । पर्यटकीय क्षेत्र लेकसाइड कास्की ३ भित्र पर्छ। सूचना अधिकारी न्यौपानेले कास्की ३ तुलानात्मक रुपमा दुर्गम क्षेत्र पर्ने भएकोले त्यहाँका उम्मेदवारको खर्च सिमा पनि अरुको भन्दा बढी रहेको जानकारी दिए । कास्की ३ पश्चिम भेग हो।
कास्की १ मा भने रुपा र मादी गाउँपालिका सहित पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छ। साविक लेखनाथ नगरपालिका कास्की १ मा पर्छ। पोखरा १ कास्कीको पूर्वि खण्ड हो। कास्की २ भने अधिकांश क्षेत्र सहरी भेग पर्छ। यो क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा मात्र वडा पर्छन। पोखराको मुख्य बजार यो क्षेत्रमा समेटिएका छन्। जहाँ बाक्लो बस्ती रहेको छ। महेन्द्रपुल चिप्लेढुंगा, रत्नचोक, सिर्जनाचोक, नयाँबजार, रामबजार लगायतका घना बस्ती यो क्षेत्रमा समेटिएका छन्।
निर्वाचन आयोगले सिमा तोकिदिएपनि दलका उम्मेदवारहरुको खर्च भने त्यो भन्दा निकै नै बढी हुने गरेको भन्दै आलोचना हुने गरेको छ। तर, उम्मेदवारहरुले भने आयोगले तोकिदिएको सिमाभित्रै रहेर रकम खर्च गर्दै आएको दावि गर्दै आएका छन्। आयोगले तोकिदिएको सिमाले उम्मेदवारको खर्च धान्नै नसक्ने नेताहरुले बताउने गरेका छन्। उम्मेदवारहरुले भने सिमाभित्रै रहेर खर्च गरेको दावि गर्दे अतिरिक्त खर्चलाई अरु कार्यकर्ता र शुभचिन्तकले खर्च गरिदिएको भनेर पन्छिने गरेका छन्।
प्रकाशित: २८ आश्विन २०७९ ११:३७ शुक्रबार