राजनीति

नागरिक उन्मुक्तिमा विवाद: दुई जनालाई कारबाही

स्थापनाको छोटो समयमै कैलालीका चारवटा स्थानीय पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ। केही व्यक्तिले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद सुरु भएको हो।

पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुईजनालाई कारवाही गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज एक प्रेस विज्ञप्ती जारी गरी कारवाही गरेको जनाएकी छन्। उनीहरुलाई पार्टीबाट निस्कासित गरेको उल्लेख छ। 

विज्ञप्ति अनुसार कारवाही पर्नेमा कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरी रहेका छन्। कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन्। अध्यक्ष श्रेष्ठद्धारा जारी विज्ञप्तिमा ‘नागरिक उन्मुक्ति पार्टीकोविरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ भनिएको छ।  

कठरिया जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कड र चौधरी टीकापुर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा हुन्। कठरियाले पार्टीको संगठन विस्तारका साथै स्थानीय निर्वाचनमा जोशीपुर गाउँपालिकामा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। कठरियाले पार्टीमा पछिल्लो समय बढ्दै गएको विकृति, अस्वस्थ प्रतिस्पर्धाका कारण पार्टी परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन्।

प्रकाशित: २८ आश्विन २०७९ १०:१५ शुक्रबार

नागरिक उन्मुक्ति पार्टी