राजनीति

धनुषा–१ मा पुरानै दुई मुख्य प्रतिस्पर्धी, जनमतबाट कमल साहको इन्ट्री

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा  प्रदेशसभा निर्वाचनमा धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंम्बर १ मा ०७४ सालमा भएको प्रतिस्पर्धीबीच पुनः प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मातृका प्रसाद यादव र प्रमुख प्रतिपक्षी दल एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीबीच आमुने–सामुने हुनेछन्।

यादव यसअघि ०७४ सालको आम निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनी अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएर २६ हजार ४१८ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्धन्द्धी तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कार्कीले १७ हजार २९६ मत ल्याएर दोस्रो भएका थिए भने नेपाली काँग्रेसका आनन्द प्रसाद ढुंगाना १५ हजार ६७९ मत ल्याएर तेस्रो भएका थिए।

अघिल्लो निर्वाचनमा एमालेको साथ पाएका यादवले यसपालि काँग्रेसको साथ पाउने भएको छ भने जसपाका उम्मेदवार कार्कीलाई एमालेको। अघिल्लो निर्वाचनमा भएको त्रिपक्षीय प्रतिस्पर्धा झैं यसपालि पनि यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धामा सिके राउत नेतृत्वका जनमत पार्टीबाट किशोरी साह (कमल) थपिएका छन्। उनी यसै क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित निवर्तमान सदस्य हुन्। एमाले–जसपाले गरेको चुनावी तालमेलमा उनी निर्वाचित भएको क्षेत्र जसपाको परेपछि असन्तुष्ट भएर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन्।

विगतको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा सत्तारुढ गठबन्धनको उम्मेदवार यादव नै दुई वटै उम्मेदवार भन्दा बलियो देखिन्छ। यद्दपी स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत पुनः सोही दलले पाउने निश्चित छैन। ‘चुनावमा उम्मेदवारको लोकप्रियता र जनतामा रहेको पकड अधारमा मत प्राप्त गर्ने महत्वपूर्ण अधार हुन्छ’, स्थानीय युवा राजनीतिककर्मी पुजन सिहं बताउँछन्।’ यादव ०६४ सालदेखि सांसद बन्दै दुईपटक मन्त्रीसमेत बनिसकेका छन्। कार्की अघिल्लो निर्वाचनमा पराजित भएर दोस्रोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको हो। धनुषा निर्वाचन क्षेत्र–१ मा ७ वटा स्थानीय तह रहेको छ। काँग्रेसले जितेको गणेशमान चारनाथ नगरपालिका–११ वटा, धनुषाधाम नगरपालिका–९ वटा, हंसपुर नगरपालिका–५ वटा ,मिथिला बिहारी नगरपालिका–४ वटा र  मिथिला नगरपालिका–१ वटा वडा पर्छ। त्यस्तै माओवादीले जितेको सबैला नगरपालिका–१३ वटा र एमालेले जितेको क्षिरेश्वरनाथ नगरपालिकाको एउटा वडा पर्छ।

गएको स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारले १७ हजार ५५०,एमालेका १५ हजार ८१७, माओवादी केन्द्रको १२ हजार २९२, जसपाको ९ हजार १०, लोसपाको ६ हजार ६२४,राप्रपाको ४ हजार ९३०, जनमत पार्टीको ३ हजार ३२०, एकीकृत समाजवादीको २ हजार ९३७ र स्वतन्त्र उम्मेदवारले ३ हजार ३२४ मत पाएका छन्।

प्रकाशित: २७ आश्विन २०७९ १०:०२ बिहीबार