राजनीति

रोल्पामा १५ वर्षमै खलबलिएको माओवादी विरासत

माओवादी विधिवत भुमिगत हुँदा २०५२ फाल्गुन १ मा प्रहरी चौकि आक्रमण गरिएको रोल्पाको होलेरीमा रहेको रुन्टीगटी गाउँपालिकामा गत स्थानीय निर्वाचनमा कांग्रेसले सानदार जित हासिल गर्यो। त्यसो त पश्चिम रोल्पाकै गंगादेब गाउँपालिकामा पनि कांग्रेसले बहुमतसहित जितेको छ भने त्रिबेणी गाउँपालिकामा एमालेले जीत हासिल गर्यो। माओवादी आधार

इलाका भनेर चिनिएको रोल्पामा परिवर्तनको ललिपप देखाउदै १० वर्षसम्म देशमा लडिएको तत्कालिन युद्ध पछिको माओवादी विरासत शान्ती प्रकृया यता १६ वर्ष मै खलबलिएको छ। जबरजस्त विरोध गरिएको संसदिय राजनीति भित्र विधिवत् छिरे संगै सत्ता उन्मादले जिब्रोमा स्वाद फेरिए पछि यसो भएको राजनीतिमा चासो राख्नेहरु बताउँछन्।

समानुपातिक र समावेशी प्रतिनिधित्व नभएको, विशेष गरि पिछडिएका वर्ग र क्षेत्र हेर्न नसकिएको भन्दै १० वर्ष मच्याइएका आतंकबाट शान्ती प्रकृया पछि राज्यको मुलधारमा आएको माओवादी छोटै समयमा आकार घटाउन बाध्य भएको छ। शान्ती प्रकृयामा आएको अर्को वर्ष २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा रोल्पामा ६० हजार ७ सय २५ मत ल्याएको माओवादीले यो पटक सबैै पालिकाका प्रमुखहरुको मत जोड्दा ४१ हजार ५ सय ९५ मतमा चित्त बुझाउनु परेको छ। उतिबेला भन्दा बढेका मतदाताको संख्या अनि हालको मत हेर्दा उसले विरासत गुमाएको प्रस्ट हुन्छ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा ११ जना रोल्पालीले संविधान सभामा इन्ट्री पाएसंगै हालसम्मका प्राय हरेक पटकका सत्ता समिकरणमा पालो पालो सिंहदरबार छिरेका रोल्पाली नेतृत्वले गतिलो भूमिका खेल्न नसकेको जनगुनासो व्यापक छ। ‘धेरै बिरालो भए मुसा मार्दैनन् भन्ने उखान रोल्पाका माओवादीमा लागु भएको छ।’ एक जिल्ला स्तरीय माओवादी नेता भन्छन् ‘माओवादीमा विचलन आए पछि रोल्पा फेरि पछाडी परेको हो।’ उपराष्ट्रपती नन्दबहादुर पुन, पुर्व सभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती, पटक पटक मन्त्री भएका बर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रशाद केसी सबै सबैले रोल्पालीका भावनाको कदर गर्न नसकेको उनको गुनासो छ।  

शान्ति प्रकृयासंगै रोल्पामा देखिएको माओवादीको ‘साइज’ १५ वर्ष नबित्दै घट्नुको कारणमा छलफल भने हुने गरेको देखिदैन। जनजिबिकामा ध्यान नदिनु, जिल्लामा गतिला योजना बनाउन नसक्नु, बैचारीक बिचलनसंगै शुसासनमा कमजोर हुनु र दम्भ पालेर बस्नु माओवादीको पतन हुदै गएको जानकारहरु बताउँछन्। त्यसो त उहि युद्ध लडेका पुर्व लडाकु, घाइते, अपाङ्ग जस्तै सहिद परिवार र बेपत्ता परिवारका बारेमा समेत माओवादीले चासो दिएको वा उनीहरुको दैनिकि सहज बनाउन गतिलो भूमिका पनि देखिएको छैन।  

संसदिय राजनीतिमा भासिएका कारण पनि माओवादीले विरासत गुमाउन थालेको पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचन मगर बताउँछन्। ‘जनयुद्धको भाबना अनुरुप जनजिबिकामा परिवतन भएन। जनअपेक्षा अनुसारका गतिविधि हुन सकेन।’ नबिन थप्छन् ‘दलिय प्रतिष्प्रधामा जानु नै माओवादीका लागी घातक बनेको हो।’ पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष महेश न्यौपाने जनअपेक्षा अनुसार काम नहुनु माओवादी कमजोर हुनुको पहिलो कारण भएको बताउँछन्। ‘भ्रष्टीकरण तर्फ उन्मुख हुनु र नाताबाद कृपाबादले गर्दा माओवादी विरासत कमजोर भएको हो।’

शान्ति प्रकृयाको १५ वर्षमा माओवादी चिरा चिरा परेर फुट्न थाले पछि कार्यकर्ताको मन पनि चिरिएको हो। शरिरमा गोलिका छर्रा बोकेर जीवन जीउन विवश कार्यकर्ताको दैलोमा माओवादी पस्न छाडेपछि उनीहरुको मन कुढिएको छ। यतिबेला सत्ता गठबन्धनको कारण देखाउदै एउटा प्रदेश कांग्रेसको भागमा परेपछि माओवादी पोलिटब्युरो सदस्यसम्म रहेका दिपेन्द्रकुमार पुनले माओवादी त्याग गर्दै स्वतन्त्र उमेद्वारी दिएका छन्। माओवादीले आफ्नो विरासत गुमाउन थालेको देखेपछि कार्यकर्ताको चर्को दबाबमा उनी उमेद्वार बनेका हुन। स्थानीय तह निर्वाचनमा ३ स्थान गुमाएको माओवादीलाई रोल्पाको चुनाब फलामको च्युरा बन्ने निश्चित भए पछि कांगे्रसलाई एउटा क्षेत्र दिनु परेको हो।  

प्रकाशित: २७ आश्विन २०७९ ०३:१७ बिहीबार

(माओवादी केन्द्र)