राजनीति

मधेसका ‘हेभिबेट’ को स्वतन्त्र चुनावी उडान

२०७४ को संसदीय निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित कांग्रेस नेता अमरेशकुमार सिंहको चुनाव चिह्न थियो रुख छाप। यसपालिको निर्वाचनमा उनको चुनाव चिह्न मात्र फेरिएको छैन, परिचय पनि फेरिएको छ। स्वतन्त्र उम्मेदवार र उनको चुनाव चिह्न छ, माछा छाप। बुधबार निर्वाचन आयोगले स्वतन्त्रमा उम्मेदवार अमरेशकुमार सिंहलाई चुनाव चिह्न ‘माछा’ दिएको छ। चुनाव चिह्न ‘माछा’ पाएपछि चुनाव चिह्नसहित उनी प्रचारप्रसारमा लागिसकेका छन्। जनताले विगतमा गरेको कामको आधारमा आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने उनको तर्क छ। सिंहले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट २९६७५ मत ल्याएर राजपाका राकेशकुमार मिश्रलाई पराजित गरेका थिए। मिश्र २८१३६ मत ल्याएर दोस्रो भएका थिए।

यसपालि सत्ता गठबन्धनबाट सर्लाही–४ मा नागेन्द्रकुमार राय साझा उम्मेदवार बनेका छन्। उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन्। राय २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए। अमरेशले आफ्नो ‘पकड’ क्षेत्र सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिँदै भनेका थिए, ‘चारतारे झन्डा हुनुपर्ने हातले राष्ट्रको झन्डा बोक्नु पर्‍यो। यो नै मेरो जितको आधार हो।’ अमरेश कांग्रेसबाट सर्लाही–४ मा २०७० र २०७४ गरी दुई पटक निर्वाचित भएका छन्।

अमरेश कांग्रेसबाट टिकट पाउन वञ्चित हुनुमा सर्लाही कांग्रेस र उनीबीचको टकराबलाई कारण मान्छन् यहाँका कांग्रेसीजन। यसअघि अधिवेशनका बेला पनि सिंहलाई क्षेत्रबाटै प्रतिनिधि बन्न रोकिएको थियो। अधिवेशनका बेला मधेस प्रदेशका महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह र कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंह दाजुभाइले अमरेशनिकट कार्यकर्तालाई वडाबाटै पाखा लगाउँदै गए। वडा अधिवेशनमा अमरेश पक्षका कार्यकर्ता रोकिएपछि अमरेश महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भए। अहिले कांग्रेसले टिकटबाट वञ्चित गरेपछि उनी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

स्वतन्त्रमा कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी पनि थपिएका छन्। पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदीले पनि चुनाव चिह्न माछा पाएका छन्। बुधबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा द्विवेलीलाई माछा चुनाव चिह्न दिएको हो। सत्तागठबन्धनमा कांग्रेसले लोसपासँग सहमति गरेपछि पर्सा क्षेत्र नम्बर १ लोसपाको भागमा परेपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यो क्षेत्रमा गठबन्धनका उम्मेदवार लाोसपाका लक्ष्मणलाल कर्ण छन्।

प्रकाशित: २७ आश्विन २०७९ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App