राजनीति

अघिल्लो संसद्का आधाभन्दा बढी सदस्य उम्मेदवार हुनबाट वञ्चित

२०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका विभिन्न राजनीतिक दलका आधाभन्दा बढी नेता नयाँ गठन हुने प्रतिनिधिसधा सदस्यका लागि उम्मेदवार हुनबाट वञ्चित भएका छन्। समानुपातिक सूचीबाट यसअघि सांसद बनेकालाई पुनः सोही सूचीबाट सांसद नबनाउने नीति दलहरूले लिँदा धेरै नेता दोहोरिनबाट वञ्चित भएका हुन्।

समानुपातिकतर्फबाट संसद् भएकालाई नदोहोर्‍याउने मात्र होइन, प्रत्यक्षतर्फ पनि प्रमुख राजनीतिक दलहरूले विभिन्न घटकसँग चुनावी तालमेल गरेका छन्। त्यसले गर्दा प्रत्यक्षतर्फ उम्मेदवार हुने अवसर पनि खुम्चिँदा निवर्तमान सांसदहरू आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनबाटै रोकिएका छन्। अर्थात् नयाँ प्रतिनिधिसभामा उनीहरूका लागि ढोका नै बन्द भएको छ।  

प्रतिनिधिसभाका केही निवर्तमान सांसदले आफ्नो स्थान सुरक्षित गर्न प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन्। समानुपातिक र प्रत्यक्ष दुवै सूचीमा परेका निवर्तमान सांसदहरू कति जना मंसिर ४ मा हुने निर्वाचनमा जनताको रोजाइमा पर्छन् भन्ने पनि प्रतीक्षाकै विषय छ।  

कांग्रेसका ४९ नेता रोकिए  

नेपाली कांग्रेसका ४९ नेता आगामी निर्वाचनबाट पुनः सोही जिम्मेवारीमा फर्कन नपाउने भएका छन्। समानुपातिकतर्फको सूचीबाट यसअघि प्रतिनिधिसभा सदस्यमा नदोहोर्‍याउने नीति कांग्रेसले लिएपछि ४९ नेता फेरि उक्त भूमिकामा नदेखिने भएका हुन्। प्रत्यक्षतर्फ प्रतिनिधिसभाको २३ वटा क्षेत्र मात्र जितेको कांग्रेसले मीनेन्द्र रिजाल, मो. आफ्ताव आलम, अमरेशकुमार सिंहलाई यो निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाए। तर सिंहले पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै सर्लाही–४ बाटै विद्रोही उम्मेदवारी दिएका छन्। रिजाल निर्वाचित भएको मोरङ–२ मा कांग्रेसले सुजाता कोइरालालाई मैदानमा उतारेको छ।  

त्यस्तै २०६४ सालको संविधानसभा निर्वाचनका समयमा व्यक्ति हत्याको आरोप लागेका आलम २०७४ सालमा रौतहट–२ बाट निर्वाचित सांसद भएका हुन्। आलम हाल जेलमा भएपछि कांग्रेसले सोही क्षेत्रबाट उनका छोरा रित्तोद आलमलाई चुनावी मैदानमा खडा गरेको छ। पार्टीभित्र गुटगत विवाद बढ्दै जाँदा बर्दिया–१ बाट यसअघि निर्वाचित सञ्जयकुमार गौतमको ठाउँमा अरुणप्रकाश राठौरलाई मैदानमा उतार्ने निर्णय गरेको थियो। गौतमलाई दिएको टिकट रद्द गरेर राठौरलाई फेरि अर्को टिकट दिइएको थियो। तर गौतमले पहिला नै मनोनयन दर्ता गर्दा आयोगले उनैलाई मान्यता दिएको छ।  

समानुपातिक सूचीबाट सांसद बनेका कांग्रेसका ३० नेता आगामी प्रतिनिधिसभा सदस्यका रूपमा सहभागी हुन पाउनेछैनन्। पार्टीले समानुपातिकबाट सांसद भएकालाई सोही समूहबाट नदोहोर्‍याउने भएपछि कांग्रेस केन्द्रीय सदस्यहरू नै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार हुनबाट वञ्चित भएका छन्।  

समानुपातिकबाट अघिल्लो संसद्मा उपस्थित नौ नेताले मात्र प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन्।

अघिल्लोपटक समानुपातिकमा बसेका सहमहामन्त्री किशोरसिंह राठौर, बालकृष्ण खाण, पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडू, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सुजाता कोइराला, विनोदकुमार चौधरी, नागेन्द्रकुमार राय, पद्मनारायण चौधरी मात्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। यसअघि प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका बहादुरसिंह लामासहितका केही भने प्रदेशसभाको उम्मेदवार बनेका छन्।  

समानुपातिकमा पुनः नदोहोर्‍याउने नीति कांग्रेसले अख्तियार गर्दा डिला संग्रौला, उमा रेग्मी, रंगमती शाही, मानबहादुर विक, मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली स्नेही, कर्मा घले, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, महेन्द्रकुमारी लिम्बूसहितका ३० नेता छन्। उनीहरू प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा नपरेपछि प्रतिनिधिसभा सदस्यका रूपमा संसद् छिर्ने ढोका बन्द भएको छ।  

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फकाट सीताराम मेहता, विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, तेजुलाल चौधरी, देवप्रसाद तिमिल्सिना, उमाकान्त चौधरी, मोहन आचार्य, प्रकाशमान सिंह, गगनकुमार थापा, भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, डा. शशांक कोइराला, देवेन्द्रराज कँडेल, प्रमोदकुमार यादव, भरतकुमार शाह, अभिषेकप्रताप शाह, सञ्जयकुमार गौतम र शेरबहादुर देउवा पुनः निर्वाचनको प्रतिस्पर्धामा छन्। यसअघि निरन्तर उम्मेदवार बन्दै आएका कांग्रेस नेताहरू रामशरण महत, महेश आचार्यसहित पनि  उम्मेदवार छैनन्।  

एमालेमा पनि उस्तै

एमाले पनि समानुपातिकतर्फको सूचीमा पुरानालाई नदोहोर्‍याउने नीति लिँदा धेरै नेता प्रतिनिधिसभा सदस्य हुनबाट वञ्चित हुने भएका छन्। २०७४ मा प्रत्यक्षतर्फ निर्वाचित भएका भीमबहादुर रावल, पार्वत गुरुङ, घनश्याम भुसाल, दीपकप्रकाश भट्टसहितका नेतालाई एमाले यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन।

समानुपातिकबाट यसअघि सांसद बनेका नवीना लामासहित अधिकांश नेता दुवै सूचीबाट उम्मेदवार बनेका छैनन्। खगराज अधिकारीसहितका केही नेता यसपटक प्रतितिनिधिसभाबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्। एमालेले उपाध्यक्ष रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू पनि दुवैतर्फको सूचीमा छैनन्।  

माओवादीका दुई दर्जनको ढोका बन्द  

नेकपा माओवादी केन्द्रले अघिल्लोपटक प्रतिनिधिसभामा सहभागी कुल ५३ सांसदमध्ये मंसिर ४ मा हुने निर्वाचनमा १९ जनाले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अघिल्लोपटक अवसर पाएकालाई नदोहोर्‍याउने नीति बनाएका कारण प्रत्यक्षतर्फको निर्वाचनका लागि मात्र अघिल्लोपटक सांसद भएकाहरूले दोहोर्‍याएर उम्मेदवारी दिएका हुन्। प्रतिनिधिसभाको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवारी दिनेमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, पार्टी महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, फम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मात्रिका यादव तथा शक्ति बस्नेत छन्।

त्यस्तै पार्टीका सचिवहरू चक्रपाणि खनाल, देवेन्द्र पौडेल तथा नेताहरू सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हितबहादुर तामाङ, ओनसरी घर्ती, रेखा शर्मा, महेश्वर गहतराज र बिना मगरले पुनः उम्मेदवारी दिएका हुन्। अघिल्लोपटक राष्ट्रिय जनता पार्टी (राजपा) बाट सांसद बनेका महिन्द्रा राय यादव पनि यसपटक माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका छन्।  

अघिल्लोपटक संसद भएका बाँकी ३४ जनामध्ये कतिपयले माओवादी केन्द्र छाडेर अन्य दलबाट उम्मेदवार बन्दैछन् भने कतिपयले यसपटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नपाउने भएका छन्। अघिल्लोपटक सांसद भएर यसपटक सिफारिसमा नपरेकाहरूमा सुरेन्द्रकुमार कार्की, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, रामेश्वर राय यादव, श्यामकुमार श्रेष्ठ र हरिबोल गजुरेल छन्।  

त्यस्तै गंगाबहादुर तामाङ, अग्निप्रसाद सापकोटा, हरिराज अधिकारी, कमला रोका, कृष्णबहादुर महरा, सन्तकुमार थारू, टेकबहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गाबहादुर रावत, पूर्णकुमारी सुवेदी, शर्मशिला चापागाईं, सत्या पहाडी, सीता पोखरेल, जयपुरी घर्ती, शशी श्रेष्ठ, यशोदा गुरुङ, अमृता थापा, अञ्जना विशंखे, दुर्गा विक, इन्दु शर्मा, बोधमाया यादव, रामकुमारी चौधरी र शेष चाँदतारा छन्।

माओवादी केन्द्रले यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ १७ संसद जितेको थियो। त्यसमध्ये कतिपय अदालतको आदेशपछि नेकपा पूर्ववत् अवस्थामा फर्किएपछि नेकपा एमालेमै रहेका थिए। माओवादीले उनीहरूको पद खोसेको थियो। माओवादीबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहसहितका छन्। त्यस्तै नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यसपटक दुवै सूचीमा छैनन्।

प्रकाशित: २७ आश्विन २०७९ ०१:४२ बिहीबार

प्रतिनिधिसभा सदस्य