राजनीति

उदयपुरमा गठबन्धनलाई समर्थन गर्दै २ स्वतन्त्रको उम्मेदवारी फिर्ता

मूख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी र सुरक्षाकर्मी। तस्विरः महेश्वर

सत्तारुढ गठबन्धनलाई समर्थन गर्दै उदयपुरका प्रदेशसभातर्फका २ ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनको समर्थन गर्दै प्रदेश १ (२) का उम्मेदवार बासुदेव उपाध्याय र २ (२) का हेमराज दाहालले मनोनयन फिर्ता लिएका हुन्।  

उपाध्याय नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने दाहाल नेकपा (माओबादी केन्द्र) का पूर्व नगर कमिटी अध्यक्ष हुन्। दुवै प्रदेश सांसदका आकांक्षी भए पनि गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उममेदवार भएका थिए। पोखरेलले काँग्रेसकै उम्मेदवार हिमाल कार्कीबिरुद्ध र दाहालले काँग्रेसकै रामकुमार खत्रीबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।  

बुधबार दिउँसो १ः०० बजेभित्र उम्मेदवारी फिर्ता लिईसक्नु पर्ने कार्यतालिका अनुसार आआफ्नो निर्वाचन अधिकृतको कार्यालय पुगेर उपाध्याय र दाहालले मनोनयन फिर्ता लिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखरेल र दाहालले निर्धारित समयभित्रै उम्मेदवारी फिर्ता लिएको जानकारी दियो।  

गठबन्धनलाई समर्थन गर्दै उपाध्यायले उम्मेदवारी फिर्ता लिएपछि प्रदेश १ का पूर्वाधार मन्त्रीसमेत रहेका १ (२) का उम्मेदवार कार्कीलाई चुनाव जित्न सहज भएको निश्कर्ष गठबन्धनले निकालेको छ। काँग्रेसका जिल्ला सभापतिसमेत रहेका कार्कीबिरुद्ध उपाध्यायको बागीले सकस पार्ने देखिएपछि तलदेखि माथिसम्मको पार्टी नेतृत्वले उपाध्यायको उम्मेदवारी फिर्ता गराउन बाक्लो पहल गरेको थियो।

त्यसैगरी गठबन्धनकै २ (२) का उम्मेदवार खत्रीबिरुद्धको दाहालको मनोनयन फिर्ताले पनि जितलाई सहज बनाएको ठहर गठबन्धनको छ। नगर पूर्व अध्यक्षसमेत रहेका दाहालको बागीले खत्रीसहित प्रतिनिधिसभामा उम्मेदवार भएका एकीकृत समाजबादीका जगन्नाथ खतिवडालाई पनि अप्ठ्यारो पार्ने आँकलन गर्दै वठबन्धनले दाहालको उम्मेदवारी फिर्तामा जोड दिएको थियो।  

उपाध्याय र दाहालको उम्मेदवारी फिर्ताले जित सहज हुने निश्कर्ष गठबन्धनको छ। ‘उहाँहरुले उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धनप्रति देखाउनु भएको सद्घाव र विश्वास सम्मानयोग्य छ’ काँग्रेस सभापति तथा १ (२) का उम्मेदवार कार्कीले भने ‘अव हाम्रो जित लगभग सुनिश्चित भयो, उहाँहरुको यो सहयोगलाई पार्टी र गठबन्धनले उच्च सम्मान गर्नेछ र निश्चय नै भविष्यमा योगदानको कदर गर्नेछ।’  

निर्वाचन क्षेत्र १ मा गठबन्धनलाई जित सहज देखिए पनि २ मा प्रतिनिधिसभातर्फ केही अप्ठ्यारो छ। गठबन्धनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई प्रतिनिधिसभा, १ (१) मा माओबादीका राजन किराती (बासु) र १ (२) मा प्रदेश मन्त्री कार्कीलाई उठाएको छ। सो निर्वाचन क्षेत्रमा गठबन्धनले एमालेबाहेक अन्य प्रतिस्पर्धीलाई गौण मानेको छ। यसअघि ३ पटक जितिसकेका डा. खड्काले चौथो पटक बाजी मार्न एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री मञ्जुकुमारी चौधरीसहित ससाना दलकै भए पनि १५ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।  

उता २ नं. निर्वाचन क्षेत्रमा भने काँग्रेसकै क्षेत्रीय सभापति रामकुमार राईको बागी उममेदवारी फिर्ता नहुनुले समस्या देखिएको अनुमान छ। गठबन्धनबिरुद्धको उम्मेदवारी फिर्ता लिन काँग्रेस ‘हेडक्वाटर’ देखि माओबादी र एकीकृत समाजबादीका माथिल्लो तहसम्मको अनुरोधलाई बेवास्ता गर्दै राईले मनोनयन फिर्ता नलिएपछि खतिवडाले राई र एमालेका अम्मर रायमाझीसहित ११ जनाको सामना गर्नुपर्ने भएको छ। उनको उम्मेदवारी फिर्ता गराएको भए खतिवडालाई चुनाव जित्न निकै सहज थियो भन्ने निश्कर्ष गठबन्धनभित्रकै छ।

१/१ जना उम्मेदवारको मनोनयन फिर्ताले १ नं. क्षेत्रमा प्रतिनिधिसभातर्फ १६ जना र प्रदेशतर्फ (१) मा १० तथा (२) मा १२ जना प्रत्यासीको चुनावी मैदानमा प्रतिस्पर्धा हुनेछ। २ नं. निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ १२ तथा प्रदेशसभा २ (१) मा ५ र २ (२) मा ६ जनाको स्पर्धा हुने २ नं. सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीका अनुसार अव उदयपुरमा दुवै निर्वाचन क्षेत्रमा २८ र प्रदेशमा ३४ गरी ६२ जनाको चुनावी पौंठेजोरी चल्ने छ।

प्रकाशित: २६ आश्विन २०७९ १७:१८ बुधबार