राजनीति

मधेस प्रदेशमा ‘हेभिवेट’बीच टक्कर

मधेसकेन्द्रित दल विभाजनको लाभ उठाउने दाउमा कांग्रेस–एमाले

प्रदेशगत रूपमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको मधेस प्रदेशबाट प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ जना सांसद निर्वाचित हुन्छन्। मधेसकेन्द्रित राजनीतिक दलकै दबदबा रहँदै आएको यो प्रदेशमा मंसिरमा हुने चुनावमा मधेसमा क्रियाशील दलमा आएको विभाजनको लाभ लिन अन्य दल जोडदार कसरतमा जुटेका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम (ससफो) मिल्दा ३२ निर्वाचन क्षेत्रमध्ये १९ मा जित निकालेका थिए। राजपाका उम्मेदवार १० र ससफोका उम्मेदवार ९ वटा निर्वाचन क्षेत्रमा विजयी भएका थिए। त्यसबेला नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ निर्वाचन क्षेत्रमा जितेका थिए। प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये अघिल्लो निर्वाचनमा राजपाले १५ र ससफोले १९ स्थानमा जितेका थिए। समानुपातिकतर्फका २० सिट गरी दुवै दलले १०७ सदस्यीय प्रदेशसभामा ५४ सिट ल्याएका थिए। निर्वाचनपछि एक स्वतन्त्र सांसदलाई ससफोमा ल्याएर यी दलले प्रदेशमा बहुमतको सरकार बनाएका थिए।

तर यसपटकको निर्वाचनमा भने मधेसका यी दुवै शक्तिको नाम मात्र फेरिएको छैन, कित्ता पनि बदलिएको छ। अहिले राजपाबाट महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ। ससफोबाट उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) बनेको छ। मधेस प्रदेशमा यी दुई दलबीच नै मंसिरमा हुने निर्वाचनमा टक्कर हुने देखिन्छ। यी दुवै दल फरकफरक कित्तामा उभिएर चुनाव लड्दै छन्। ठाकुर नेतृत्वको लोसपा सत्तारुढ नेपाली कांग्रेससँग चुनावी गठबन्धनमा छ भने उपेन्द्र यादव नेतृत्वको जसपाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको छ। अहिले लोसपा सत्ताबाहिर र जसपा सत्तामा भएको अवस्था छ।

गठबन्धन गर्दा जसपाले मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमध्ये १७ स्थान पाएको छ। प्रतिनिधिसभाका ७ सिटमा जसपा र लोसपाका नेताबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये ३२ मा जसपाले गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछ। त्यसमा पनि १६ सिटमा जसपा र लोसपाका नेताबीच प्रतिस्पर्धा हुनेछ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन दलकै महेन्द्र राय यादव र राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुनेछ। महतो लोसपा र यादव नेपाल समाजवादी पार्टीका नेता हुन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा महतो तत्कालीन राजपाबाट धनुषा–३ र यादव सर्लाही निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही २ मा महतो र यादवबीच प्रतिस्पर्धा भएको थियो। त्यसबेला महतो विजयी भएका थिए। यसपटक सर्लाही २ बाट पुनः यादव र महतो चुनावी मैदानमा उत्रिएका छन्। महतोका लागि सर्लाही–२ बाट चुनाव लड्नु नौलो होइन। उनी यस क्षेत्रबाट २०४८, ०५१ र ०५६ को संसदीय चुनाव लडेका थिए। तर जित भने ०५६ मा मात्रै हासिल गरे। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने महतो सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए।  

यादवले भने सर्लाही २ बाट २०४८, ०५१, ०५६ र ०६४, ०७४ सालमा निरन्तर चुनाव जितेका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यादव २९ हजार १९१ मत ल्याएर निर्वाचित भएका थिए। त्यसबेला नेपाली कांग्रेसका जंगीलाल यादव १८ हजार ९७६ मत ल्याएर दोस्रो भएका थिए। यसपटक जंगीलाल माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनावी मैदानमा छन्।  

मधेस प्रदेशकै अर्को जिल्ला सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादव र जसपाका नेता राजकिशोर यादव प्रतिस्र्धामा छन्। चित्रलेखा सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्। राजकिशोर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार हुन्।

चित्रलेखा साबिकको क्षेत्र नम्बर २ बाट २०५६ सालमा निर्वाचित भएकी थिइन्। राजकिशोरले २०६४ मा क्षेत्र नम्बर ६ र २०७४ सालमा क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका थिए। सिरहा २ बाट २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास यादव निर्वाचित भएका थिए। खानदानी कांग्रेसी उनी ०४८ र ०५१ मा क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए। ०७४ मा कांग्रेसले क्षेत्र नम्बर २ बाट टिकट नदिएपछि उनी माओवादी केन्द्रबाट चुनाव लडेका थिए। उनले अघिल्लो निर्वाचनमा २० हजार १४८ मत पाएका थिए। दोस्रो स्थानमा रहेका संसफोका शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत पाएका थिए। तेस्रो स्थानमा रहेका कांग्रेसका रामचन्द्रले १५ हजार ५९७ मत पाएका थिए। अहिले यस क्षेत्रमा सुरेशचन्द्र निर्णयक पात्रको रुपमा उभिएका छन्। उनको समर्थन जसले पाउँछ उसको पल्ला भारी हुने निश्चित छ। सिरहका २ का एक मतदाताले भने, ‘यो क्षेत्रमा जित्नका लागि सुरेशबाबुको मत निर्णायक छ। उहाँ जुन उम्मेदवारतिर ढल्किनुहुन्छ उसैको जित सुनिश्चित जस्तै छ।’

सिरहा क्षेत्र नम्बर २ मा नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, सुखिपुर नगरपालिका, धनगढीमाई नगरपालिकाको १ र २ नम्बर वडा, अनार्मा गाउँपालिकाका दुईवटा वडा र गोलबजार नगरपालिकाको एउटा वडा पर्छ। स्थानीय तह निर्वाचनको मत हेर्दा यी पालिकामा एमाले र जसपाको पकड बलियो छ। बरियारपट्टी र धनगढीमाईका केही वडाबाहेकमा कांग्रेसले जितेको छैन।  

त्यस्तै पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा र लोसपाका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनबाट लोसपाका नेता लक्ष्मणलाल कर्ण र विपक्षी गठबन्धनबाट जसपाका नेता प्रदीप यादवबीच प्रतिस्र्धा हुने मतदाता बताउँछन्। यो क्षेत्रमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति अजयकुमार द्विवेदीले बागी उम्मेदवारी दिएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा १ बाट २१ हजार १३२ मत ल्याएर प्रदीप निर्वाचित भएका थिए। त्यसबेला उनी संसफा र राजपा गठबन्धनबाट चुनाव लडेका थिए। प्रदीपका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४८१ मत ल्याएका थिए। २०७४ सालमा पर्सा–४ बाट चुनाव जितेका कर्णले अहिले १ बाट उम्मेदवारी दिएका छन्।  

मधेस प्रदेशको राजधानी रहेको धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि महेन्द्र यादव र रघुवीर महासेठबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरू २०७४ सालको निर्वाचनमा पनि मैदानमा उत्रिएका थिए। त्यसबेला महासेठले महेन्द्रलाई पराजित गरेका थिए। महासेठले २२ हजार ५३२ मत र महेन्द्रले १९ हजार ९९१ मत ल्याएका थिए थिए। यसपटक भने यो निर्वाचन क्षेत्रको राजनीतिक समीकरण भिन्न छ। कांग्रेसका महेन्द्रलाई लोसपा र माओवादी केन्द्रको साथ छ। महासेठ एमालेका मात्रै उम्मेदवार हुन्। यहाँ जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको छ। यो क्षेत्रमा जसपा र एमालेबीच मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी भएको छ।

यसपटक मधेसकेन्द्रित दलले गठबन्धन कित्ता फेर्दा ‘हेभिवेट’ धेरै नेताको सांसद बन्ने सपना दाउमा लागेको छ। दुईजना हेभिवेट नेता एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एउटाले जित्ने र अर्कोले हार्ने निश्चित छ।

प्रकाशित: २६ आश्विन २०७९ ०१:३५ बुधबार

मधेस प्रदेश