राजनीति

कैलाली–१ मा कसले जोगाउला विरासतः रामजनम वा रेशम पत्नी रञ्जिता ?

२०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट रेशमलाल चौधरी चमत्कारीक ढंगले विजयी भएका थिए। अन्य ११ जना उम्मेदवारको जम्मा मत भन्दा चौधरी एक्लैको झण्डै ८ हजार मत बढी थियो।  

चौधरीले ३४ हजार ३४१ मत पाएका थिए भने अरु सबैको मत जोड्दा २६ हजार ३५० हुन आउँछ। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मदनकुमारी शाह गरिमाको मत १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी केन्द्रिय सदस्य इश्वरी न्यौपानेको मत ११ हजार २०३ मात्रै थियो। अरु नौजना उम्मेदवारले हजार मत पुर्याउन सकेनन्।  

२०७९ मंसिर ४ गते हुने आमनिर्वाचनमा तिनै चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छिन्। चौधरी राष्ट्रिय जनता पार्टीको उम्मेदवार थिए भने श्रेष्ठ आफै नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेकी छन।  

टीकापुर घटनाका मुख्य आरोपी चौधरी हाल डिल्लीबजार कारागारमा छन। उनले जेलबाटै पार्टीको काम गरिरहेका छन। यो पटक कैलाली–१ मा उनी उम्मेदवार बनेनन्। उनले बर्दियाबाट उम्मेदवारी दर्ता गराए। उनको उम्मेदवारी विरुद्ध उजुरी परिसकेको छ। उनको उम्मेदवारी सदर नहुने निश्चित छ।  

यही कुरा थाहा पाएका चौधरीले कैलाली–१ मा पत्नीलाई अघि सारे। किनकी आफूले कैलाली–१ बाट उम्मेदवारी दिए उजुरी पथ्र्यो र बदर हुन्थ्यो। यदि त्यसो हुँदा पार्टीले मैदान छोड्नु पथ्र्यो। यी सबै कुराको पूर्वानुमान गरेर चौधरीले पत्नी श्रेष्ठलाई आफ्नो उत्तराधिकारीका रुपमा चुनावी मैदानमा उतारेका छन।  

चौधरी पत्नी श्रेष्ठको प्रतिस्पर्धा पूर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रिय सदस्य रामजनम चौधरीसँग हुँदैछ। उनी २०४८ सालको आमनिर्वाचनमा कैलाली–२ बाट २८ वर्षको उमेरमा सांसद भएका थिए। तत्कालिन अवस्थामा कैलाली जिल्लामा ३ निर्वाचन क्षेत्र थिए। त्यसपछि पनि उनी पटकपटक सांसद रहे।  

त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट पटकपटक सांसद रहे। उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्य मन्त्री समेत भए।  

उनी विजय गच्छदारसँगै काँग्रेस छोडेर नेपाल लोकतान्त्रिक फोरममा गएका थिए। उनी गच्छदारसँगै पुनः काँग्रेसमै फर्किएका हुन। उनी काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रिय सदस्य विजयी भएका थिए।

चौधरी काँग्रेसको हेभिवेट उम्मेदवार हुन। थारु मतका आधारमा स्थापित हुन खोजेको नागरिक उन्मुक्ति पार्टीलाई रोक्न काँग्रेसले चौधरीलाई अघि सारेको देखिन्छ। उनी थारु समुदायका प्रभाव राख्ने व्यक्ति हुन। उनलाई गठबन्धनको समेत साथ रहेको छ।  

चौधरीले थारु समुदाय भित्रको आफ्नो मत मात्रै कायम राख्न सके जित्न सक्ने आँकलन गरिएको छ। उनले जातिवादको पक्षमा लाग्ने बाहेकको थारु समुदाय आफ्नो पक्षमा रहेको बताए। ‘धेरै राम्रो माहौल बनेको छ’ उनले भने–‘सद्भाव चाहनेहरु एक ठाउँमा छन।’

नागरिक उन्मुक्तिलाई थारु मतको दम्भ छ। कैलाली–१ मा झण्डै ५५ प्रतिशत थारु मत रहेको छ। त्यो मत आफ्नो पक्षमा रहेको पार्टी प्रवक्ता दामोदर पण्डितले दावी गरे। उनले जित निश्चित भइसकेको बताए। ‘हामी जित्ने कुरामा कुनै शंका छ र?’ उनले भने–‘घोषणाका लागि मात्रै मंसिर ४ कुर्नुपर्ने हो।’

तर स्रोतका अनुसार पण्डितले भने जस्तो श्रेष्ठलाई जित्न सहज भने छैन। श्रेष्ठलाई एकथरी थारु समुदायले नस्विकार्ने भन्न थालेका छन। जसले गर्दा पार्टी भित्र आन्तरिक किचलो सुरु भएको छ।

यही मौकामा चौका हान्ने दाउमा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल छन। भरखरै टीकापुर नगरपालिकाको नेतृत्वबाट बर्हिगमन भएका रावल थारु मतको विभाजनको पर्खाईमा छन। उनी चौधरी र श्रेष्ठबीच कडा प्रतिस्पर्धा होस् भन्ने चाहन्छन।

उनले जातीय विभाजन र गठबन्धनको मुद्दालाई अस्विकार गरेर जनताले आफ्ना पक्षमा मतदान गर्ने बताए। उनले देशैभर एमाले प्रति जनलहर जुटेको दावी गरे। रावलले टीकापुर नगरपालिकाको मेयरका रुपमा आफूले गरेका कामको समेत जनताले मूल्याङ्कन गर्ने बताए। ‘धेरै काम गर्न सकेन होला’ उनले भने–‘बिगार्ने काम पनि केही गरेको छैन।’

स्थानीय तह निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकाको नेतृत्व हात पारेको नागरिक उन्मुक्ति र गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ। २०७४ को आमनिर्वाचनमा एमालेले माओवादीको साथ पाएर दोस्रो स्थान बनाएको थियो। काँग्रेस एक्लै तेस्रो स्थानमा थियो भने अहिले माओवादी सहितका दल गठनबन्धको पक्षमा छन। यसले गर्दा चौधरीले लामो समयदेखीको आफ्नो विरासत कायम राख्लान वा श्रेष्ठले पतिको विरासतलाई जोगाउने हुन कैलाली–१ को निर्वाचन रोचक बन्ने देखिन्छ।  

प्रकाशित: २५ आश्विन २०७९ ०७:४६ मंगलबार

कैलाली–१