राजनीति

दाहालकेन्द्रित माओवादी प्रचार

माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांश पदाधिकारीलाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठाउने निर्णय गरेको छ। पार्टीका केहीबाहेक अधिकांश पार्टी पदाधिकारीले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन्। तर उम्मेदवार दर्ताको प्रचार भने पार्टी अध्यक्ष दाहालमय बनेको छ।  

अध्यक्ष दाहालका निजी सामाजिक सञ्जाल, उनको सचिवालय तथा पार्टी केन्द्रसँग सम्बन्धित अधिकांश प्रचार माध्यमबाट दाहालले गोरखामा गरेको मनोनयन दर्ता तथा उनका गतिविधिलाई मात्र प्राथमिकतामा राखिएको छ। सुरुमा चितवनबाट निर्वाचन लड्ने घोषणा गरेका दाहालले अन्तिममा सहकर्मी बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठको गृह जिल्लाबाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको उनको प्रचारप्रसारमा सम्पूर्ण पार्टी पंक्ति तथा पार्टीनिकट प्रचार माध्यम केन्द्रित भएको देखिन्छ। पार्टीका अन्य पदाधिकारी तथा केन्द्रीय स्तरका नेताहरूको भने केन्द्रीय तहबाट खासै प्रचार भएको देखिँदैन।  

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेकाले उनी यसपटक निर्वाचनमा उठेनन् भने उपाध्यक्ष कृष्णबहादुर महरा सुरुमा समानुपातिक तर्फबाट उम्मेदवार बन्ने भने पनि अन्तिममा उनको नाम समानुपातिकबाट हट्यो। पार्टीका महासचिव देव गुरुङ लमजुङबाट, उपमहासचिव वर्षमान पुन रोल्पाबाट, पम्फा भूसाल ललितपुर ३ बाट तथा जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन्। उपमहासचिव हरिबोल गजुरेललाई भने माओवादीले टिकट दिएन।

त्यस्तै उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, उपमहासचिव मातृका यादवले धनुषा र शक्ति बस्नेतले जाजरकोटबाट उम्मेदवारी दर्ता गराएका छन्। माओवादी सचिव चक्रपाणि खनालले कपिलवस्तु १ र देवेन्द्र पौडेलले बाग्लुङ २ बाट उम्मेदवारी दिएका छन्।  

प्रकाशित: २५ आश्विन २०७९ ०२:०० मंगलबार

अध्यक्ष पुष्पकमल दाहाल