राजनीति

रौतहटमा महिला उम्मेदवार छ प्रतिशत मात्र

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको लागि रौतहटमा करिब छ प्रतिशत महिलाले मात्र मनोनयन दर्ता गराएका छन्। रौतहटमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि २०७ जनाले मनोनयन दर्ता गराएकामा १२ जना मात्र महिला उम्मेदवार रहेको देखिएको छ।  

प्रतिनिधि सभाको लागि चार निर्वाचन क्षेत्र रहेको रौतहटमा निर्वाचन क्षेत्र नम्बर १ मा १७ जनाले मनोनयन दर्ता गराएकामा १५ जना पुरुष र २ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा ३१ जनाले मनोनयन दर्ता गराएकामा २९ पुरुष र २ महिला रहेका छन् भने भने क्षेत्र नम्बर १ को २ तर्फ १८ जनाले मनोनयन दर्ता गराएकामा १ जना मात्र महिला रहेका छन्।

क्षेत्र नम्बर २ मा १३ जनाले मनोनयन दर्ता गराएकामा महिला उम्मदेवार शून्य रहेको छ। प्रदेश सभातर्फ क्षेत्र नम्बर २ को १ मा १३ जना उम्मेदवार रहेकामा १ जना महिला रहेका छन् भने २ को २ तर्फ १५ उम्मेदवारमा महिलाको उपस्थिति शून्य रहेको छ।  

यसै गरी क्षेत्र नम्बर ३ मा पनि प्रतिनिधि सभातर्फ महिला उम्मेदवार रहेको छैन। प्रत्यक्ष निर्वाचनका लागि १९ जना पुरुषले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नम्बर ३ को प्रदेश सभा १ तर्फ ९ जना पुरुषले मात्र मनोनयन दर्ता गराएका छन्।

यसै गरी रौतहट क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको लागि १८ जनाले मनोनयन दर्ता गराएकामा २ जना महिला रहेका छन्। प्रदेश सभातर्फ ४ को १ तर्फ १३ उम्मेदवार रहेकामा १ महिला छन् भने २ तर्फ २४ उम्मेदवार रहेकामा १ महिला रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ महिला उम्मेदवार धेरै नजाने प्रवृत्ति रहेकामा रौतहटमा झन् कम रहेको छ। चार संसदीय क्षेत्रमध्ये २ सिट र आठ प्रादेशिक क्षेत्रमध्ये पनि २ सिटमा कुनै पनि महिलाको मनोनयन नहुनु दुःखद भएको महिला अधिकारकर्मीहरुको भनाइ छ।

प्रकाशित: २४ आश्विन २०७९ १६:३३ सोमबार