राजनीति

मोरङका ४ निर्वाचन क्षेत्रमा पुरानै अनुहारबीच प्रतिस्पर्धा

मोरङका प्रतिनिधिसभाका ६ मध्ये ४ वटा निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनकै प्रतिस्पर्धीबीच पुनः प्रतिस्पर्धा हुने भएको छ। मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली काँग्रेसका  डिगबहादुर लिम्बु र नेकपा एमालेका घनश्याम खतिवडावीच प्रतिस्पर्धा हुने भएको छ।  

अघिल्लो निर्वाचनमा डिगबहादुर लिम्बुलाई हराउँदै खतिवडा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै मोरङको क्षेत्र नम्बर ३ मा गत निर्वाचनकै प्रतिस्पर्धीहरू गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार डा शुनिल शर्मा र नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री भानुभक्त ढकाल पुनः प्रतिस्पर्धामा उत्रिएका छन्। गत निर्वाचनमा एमालेका ढकालले शर्मालाई पराजित गरेका थिए। मोरङ क्षेत्र नम्बर ५मा जसपाका राजकुमार यादव र माओवादीका उम्मेदवार शिवकुमार मण्डलबीच प्रतिस्पर्धा हुने भएको छ। गत निर्वाचनमा नेकपा माओवादी केन्द्रमा शिवकुमार मण्डल विजयी भएका थिए। नेपाली काँग्रेसका अमृत अयार्ल मुख्य प्रतिस्पर्धी थिए भने जसपाका राजकुमार यादवले तेस्रो भए। गठबन्धनका कारण यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रको भागमा परेपछि गत निर्वाचनमा विजयी भएका शिवकुमार मण्डल र राजकुमार यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।  

यस्तै  मोरङको क्षेत्र नम्बर ६ मा पनि अघिल्लो निर्वाचनका प्रतिस्पर्धीहरू नेपाली काँग्रेसका डा शेखर कोइराला र नेकपा एमालेका नेता लालबाबु पण्डितवीच प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले झिनो मत अन्तरले नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरेका थिए। यता मोरङ क्षेन नम्बर २ मा भने नेकपा एमालेले पुरानै उम्मेदवार ऋषिकेश पोखरेललाई दोहोर्याएको छ भने नेपाली काँग्रेसले नेतृ सुजाता कोइरालालाई उम्मेदवार उठाएको छ। अघिल्लो निर्वाचनमा  क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता पोखरेललाई हराउँदै नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजाल निर्वाचित भएका थिए। यस्तै मोरङ क्षेत्रनम्बर ४ मा गठबन्धन तर्फबाट नेकपा माओवादीका अमनलाल मोदी उम्मेदवार बनेका छन्। नेकपा एमालेका तर्फबाट विनोद ढकाल उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई हराउँदै नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदी निर्वाचित भएका थिए।

प्रकाशित: २४ आश्विन २०७९ ११:१८ सोमबार