राजनीति

प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक बन्द सूचीमा ताप्लेजुङबाट २८ जना समेटिए

बिभिन्न दलको समानुपातिक बन्दसूचीमा ताप्लेजुङबाट २८ जना अटाएका छन्। समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभामा १३ र प्रदेशसभामा १५ जना अटाएका हुन्। निर्वाचन आयोगको वेबसाईटमा उल्लेख भए अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी एमालेका अटाएका छन्।

प्रतिनिधिसभातर्फको बन्दसूचीमा एमाले केन्द्रीय सदस्यद्धय टंक आङ्बुहाङ लिम्बू र उर्मिला थेबे तथा जनजाति नेता शिवकुमार गुरुङ गरी तीनजना अटाएका छन्। यस्तै काँग्रेसबाट महाधिबेशन प्रतिनिधिद्धय लिलादेवी बोखिम र गीताकुमार सेन्दाङ गरी दुईजना अटाएका छन्। माओवादी केन्द्रबाट तेजशमशेर भट्टराई (काजी),राप्रपाबाट अमृतकुमार साउदेन,जनता समाजवादी पार्टीबाट कीर्तिमान मादेन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सीतादेवी लिम्बूको नाम बन्दसूचीमा रहेको छ। यस्तै मंगोल नेस्नल अर्गनाइजेसनबाट अमृता बिक, नेपालका लागि नेपाली पार्टीबाट भूपेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट उमा लिम्बू र जनसमाजवादी पार्टी नेपालबाट गंगादेवी बस्नेतको नाम प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा रहेको छ।  

प्रदेशसभातर्फ काँग्रेस र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुई–दुई तथा अन्य ११ पार्टीका एक–एकजनाको नाम समानुपातिक बन्द सूचीमा रहेको छ। काँग्रेसबाट महाधिवेशन प्रतिनिधिद्धय इन्द्रकुमार केदेम लिम्बू र शिला इजम तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्दु लिम्बू र मेलिना मादेनको नाम रहेको छ। 

एमालेबाट बुद्धिमान परियार, माओवादी केन्द्रबाट मनकुमारी मादेन लिम्बू, जनता समाजवादी पार्टीबाट निर्मला लिम्बू, नेकपा एसबाट नेताकुमारी परियार सिवा र राप्रपाबाट निर्मला इजम थापाको नाम बन्द सूचीमा रहेको छ। यस्तै जन समाजवादी पार्टीबाट असिम आङबुहाङ लिम्बू, नेकपा मालेबाट तेजेन्द्रकुमार प्रसाँई, नेपालका लागि नेपाली पार्टीबाट प्रमिला श्रेष्ठ,लोकतान्त्रिक समाजवादी पार्टीबाट अनिसा थेबे,नेपाल मजदुर किसान पार्टीबाट विकास काङ्भा लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टीबाट देवीमाया लिम्बूको नाम प्रदेशसभा सदस्यतर्फ समानुपातिक बन्द सूचीमा रहेको छ।

प्रकाशित: २४ आश्विन २०७९ ०९:४९ सोमबार

प्रतिनिधि तथा प्रदेशसभा