राजनीति

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी मनोनयन आज

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन हुँदै छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाभित्र उम्मेदवारी मनोनयनका लागि प्रमुख राजनीतिक दलहरू उम्मेदवार टुंगो लगाउन सक्रिय छन्।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभाका अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। केही क्षेत्रमा उम्मेदवार फेरबदल हुनसक्ने एमाले स्रोतको दाबी छ। एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेल गरेको छ।  

त्यस्तै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरी उम्मेदवारी दिने भएको छ। सत्ता साझेदार जसपाले अन्तिम समयमा एमालेसँग चुनावी तालमेल गरेपछि गठबन्धन दलहरू मधेसमा क्रियाशील लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई साथमा लिने निष्कर्षमा पुगेका छन्। सात निर्वाचन क्षेत्र लोसपालाई दिएर चुनावी तालमेल गर्न सत्ता गठबन्धन दलहरू तयार भएका छन्। सत्ता गठबन्धन दलहरूले प्रतिनिधिसभाका १५ निर्वाचन क्षेत्र बाँकी राखेर शुक्रबार नै सिट बाँडफाँटमा समझदारी गरेका थिए। १५ निर्वाचन क्षेत्र लोसपासँग तालमेलका लागि भनेर बाँकी राखिएको थियो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, एमाले, जसपा, लोसपा, राप्रपालगायत दलहरू उम्मेदवार टुंगो लगाउन अन्तिम कसरतमा छन्। उम्मेदवारको अन्तिम टुंगो लगाउन कांग्रेस नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा छन्। अर्को राजनीतिक दलभित्र उम्मेदवार छनोटमा देखिएको असन्तुष्टि गठबन्धनमा पर्ने भएकाले त्यस्तो हुन नदिन पनि नेताहरू सचेत देखिएको स्रोतको दाबी छ।

निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्न दलहरूलाई आह्वान गरेको छ। आयोगले शनिबार पत्रकार सम्मेलन गरी बाढीपहिरोलगायत कारणले उम्मेदवारी मनोनयनमा कहींकतै समस्या भए त्यसलाई सहजीकरण गर्ने जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयमै उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले आइतबार बेलुकी ५ बजेभित्र सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न आयोगले आग्रह गरेको छ। ‘पानी परेको छ, बाढीपहिरो र यातायात अवरुद्ध भएकाले कतिपय हिमाली र पहाडी जिल्लामा टिकट पु¥याउन सकस परिरहेको गुनासो छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्वाचन अधिकृतको कार्यालयसम्म टिकट पु¥याउन मात्रै सहजीकरण गरिदिन लागेको हो। मनोनयन दर्ता भने निर्वाचन अधिकृतको कार्यालयबाटै हुन्छ।’

प्रतिनितिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० पदका लागि आइतबार एकसाथ उम्मेदवारी मनोनयन दर्ता हुँदै छ। समानुपातिकतर्फको बन्दसूची भने दलहरूले यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन्।

प्रकाशित: २३ आश्विन २०७९ ०१:१३ आइतबार

निर्वाचन आयोग