राजनीति

टिकटको विषयलाई लिएर एमाले सुर्खेतमा विवाद

पार्टी केन्द्रले सुर्खेत क्षेत्र नं. १ (ख) मा डण्डीप्रसाद शर्मालाई उम्मेदवार बनाएपछि नेकपा एमालेमा चरम असन्तुष्टी देखिएको छ। एमाले सुर्खेतले पार्टी केन्द्रले उम्मेदवार बनाएका शर्मालाई जिताउन नसक्ने भन्दै हारको जिम्मेवारी केन्द्रले नै लिनुपर्ने निर्णय समेत गरेको छ।

एमाले सुर्खेतको शनिबार बसेको बैठकले अन्तर पार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री खड्कबहादुर खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन विपरित भएको ठहर गरेको छ।

बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावलीसमेत नभएका र सधैं पार्टी अनुशासन उल्लंघन गरी पार्टीका विरुद्धमा सार्वजनिक रुपमा लागेका शर्मालाई उम्मेदवार बनाउँदा आम कार्यकर्ता र मतदाताको भावना प्रतिकुल हुने बताएको छ।  

‘शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा असहमति प्रकट गर्दछ,’ निर्णयमा भनिएको छ, ‘प्रदेशमा पार्टीलाई विजयी गराउने हो भने पार्टीको अपानि बमोजिम प्रक्रियागत रुपमा एकल सिफारिस भएका खत्रीलाई टिकट उपलब्ध गराउनु हुन पार्टी नेतृत्वसँग जोडदार माग गर्दछौं।’  

खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकलरुपमा नाम सिफारिस गरेको थियो। एकल रुपमा सिफारिस भएपछि उनी प्रचार–प्रसारमासमेत जुटिसकेका छन्।

प्रकाशित: २२ आश्विन २०७९ ०७:२६ शनिबार

नेकपा एमाले