राजनीति

दाहाललाई चितवनबाटै निर्वाचन लड्न गठबन्धनको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरूले अनुरोध गरेका छन्।

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्। मङ्गलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उठ्न आग्रह गरिएको छ।

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई/दुई जनाका दरले तयारी समितिसमेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ। साथै सो विज्ञप्तिमा गठवन्धन दलका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुनसमेत अनुरोध गरिएको छ।

बैठकमा नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादी पार्टीका प्रेमराज भुजेलको उपस्थिति रहेको थियो।

प्रकाशित: १९ आश्विन २०७९ ०३:४१ बुधबार

नेकपा माओावदी केन्द्र पुष्पकमल दाहाल