राजनीति

विवादास्पद ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज

विवेकशील साझा पार्टीले विवादस्पद र घातक दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरेको छ।

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले  पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो।

बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।

विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरीतको गतिविधिमा प्रत्य‍क्ष संलग्न रहेको पाईएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरीत गतिविधिमा  संलग्न भएका नेताहरूलाई तत्कालै  स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ।

यसैगरी बैठकले पार्टी भित्र देखा परेको  वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई  विवादस्पद दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुन: सकृय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन अपील गरेको छ।

प्रकाशित: १५ आश्विन २०७९ १०:१८ शनिबार

विवेकशील साझा पार्टी