राजनीति

प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की, कर्मचारीहरुद्वारा सेवा अवरुद्ध

धनकुटाको पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र राईले ज्यान मार्ने धक्की दिएको भन्दै कर्मचारीहरुले सेवा ठप्प पारेका छन्।

घटनाको छानबिन र कानुनी कारबाहीको माग गर्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले सेवा अवरुद्ध गरेका छन्। हिजो (बिहिबार) साँझ करिब ५ बजेतिर सांसद राईले फोनमार्फत धम्की दिएको अधिकृत पौडेलले बताए। उनले उक्त घटनाबारे आज एक विज्ञप्ती जारी गर्दै सांसद राईले अपमानजनक, अभद्र, असभ्य र अराजकतवरले जिउ ज्यान मार्ने धम्की दिएको बताएका छन्। पौडेलले विज्ञप्तीमार्फत नै आफ्नो ज्यानको सुरक्षाको माग समेत गरेका छन्।  

यो घटनाको अनुसन्धान र कानुनी कारबाही अघि बढाउन माग गर्दै आजदेखि सम्पूर्ण कर्मचारीहरुले काम छोडेपछि सेवा अवरुद्ध भएको मेयर ज्ञानबहादुर गुरुङले जानकारी दिए। उनले टेलिफोन सम्पर्कमा भने,‘सबै कर्मचारीहरुले काम छोडेर हिँडेका छन्। कर्मचारी र माननीयबीचको कुरा हो। कर्मचारीले के गरे, किन गाली गरे भनेर अन्यौल छौं।’ मेयर गुरुङले दुवै पक्ष एउटै टेबलमा बसेर छलफल नगरी यथार्थ थाह नहुने पनि बताए।

प्रशासकीय अधिकृत पौडेल र कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा सांसद राईले ज्यान मार्ने धम्की दिएको र वडा नं ४ का बलराम खड्काले राती सामाजिक सञ्जालमा पौडेलको फोटो राखेर मिथ्या आरोपहरु लगाएको उल्लेख छ। उनीहरुले सत्य तथ्य छानबिन गरी प्रचलित साइबर अपराध कानुन वमोजिम कार्वाही गर्न पनि प्रमुख प्रशासकीय अधिकृत पौडेल र कर्मचारीहरुले माग गरेका छन्। नगरपालिकाका कर्मचारी डर, त्रास, धम्की र अपहेलना सरेर एवं मिथ्या आरोपले अपमानित भएर स्वतन्त्ररुपमा काम गर्न नसक्ने भन्दै घटनाको अनुसन्धान, निराकरण र कानुनी कारबाही अघि नबढाए कर्मचारीहरुले सेवा दिन नसक्ने पनि बताएका छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App