चुनावको सँघारमा मनलाग्दी कर्मचारी सरुवा गरिएको छ। बुधबारदेखि निर्वाचन आचारसंहिता लागु भएकाले मंगलबारको मिति राखेर सहरी विकास मन्त्रालयमा एकजना सहसचिवको सरुवा भएको छ। केही कर्मचारीहरूको भने हाजिरी गरेको भोलिपल्टै सरुवा गरिएको छ।
भदौको पहिलो साता सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजना फिदिममा कार्यरत आयोजनाप्रमुख सुमन मिश्रलाई फिदिमबाट सघन सहरी तथा भवन निर्माण आयोजना नेपालगञ्ज सरुवा गरियो। उनी नेपालगञ्जमा २ दिन मात्र बसे।
नेपालगञ्ज कार्यालयमा हाजिरी गरेको भोलिपल्टै मिश्रलाई सघन सहरी तथा भवन निर्माण आयोजना दाङमा सरुवा गरियो। दाङमा उनले भदौ ९ गते हाजिरी गरेका थिए। दाङमा कार्यरत खड्ग चौधरीलाई सघन सहरी तथा भवन निर्माण आयोजना नेपालगञ्जमा सरुवा गरियो। सहरी विकासमन्त्री मेटमणि चौधरीको निर्देशनमा मिश्रलाई नेपालगञ्जबाट दाङ लगिएको स्रोतको भनाइ छ ।
यसैगरी मंगलबारकै मिति राखेर सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव तथा वाग्मती सुधार अयोजना प्रमुख दिलीप भण्डारीलाई एक महिनामै मन्त्रालयमा तानिएको छ। भण्डारीको ठाउँमा सुवास बस्नेतलाई लगिएको छ। उक्त आयोजनामा सहसचिवसरहको दबरन्दी छ।
भण्डारी सहसचिव हुन् तर सहसचिव सरहका कर्मचारीलाई मन्त्रालयमा तानेर उपससचिवसरहका कर्मचारीलाई आयोजनामा कायममुकायम दिइएको छ। एसियाली विकास बैंकको सहयोगमा केही वर्षदेखि वाग्मती सुधार कार्यक्रम सञ्चालन भइरहेको छ। ‘आयोजना प्रमुखहरू बारम्बार फेर्दा दातृ निकायहरू मन पराउदैनन्,’ स्रोतले भन्यो, ‘तर यहाँ विधि र परम्पराभन्दा पनि मन्त्रीको लहडमा आयोजना प्रमुख फेरबदल भइरहेका छन् ।’
स्रोतका अनुसार भण्डारीलाई मन्त्रालयमा ल्याउन सहरी विकासमन्त्री चौधरीले नै दबाब दिएका थिए। वाग्मती विकास समितिले आयोजनामा कार्यरत ४६ जना ज्यालादारी कर्मचारीलाई गत साउनदेखि कामबाट हटाएको थियो। स्रोतले भन्यो, ‘यो विषय मन्त्रालयसम्म पुग्यो। मन्त्री चौधरीले हटाइएका कर्मचारीलाई पुनः सेवामा राख्न भण्डारीलाई दबाब दिएका थिए तर उनले कर्मचारीलाई तलब खुवाउन बजेट नभएकाले हटाइएका कर्मचारीलाई राख्न नमिल्ने जवाफ दिएका थिए ।’ त्यसपछि भण्डारीसँग मन्त्री चौधरी निकै असन्तुष्ट भएको स्रोतले बताएको छ।
प्रकाशित: १४ आश्विन २०७९ ०२:०९ शुक्रबार